काठमाडौं– बाँकेस्थित नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवक एक साताअघि भारतबाट नेपाल प्रवेश गरेको खुलेको छ।
आइतबार बिहान मृत्यु भएका युवक पाँच दिनअघिदेखि क्वारेन्टाइनमा बसेका थिए। मृत्यु हुनुअघि उनलाई निरन्तर वाकवाकी भएको बताइएको छ। भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका उनलाई सुरक्षाकर्मीको सहायतामा क्वारेन्टाइनमा पुर्याइएको थियो।
भारतले सीमामा नेपाली ल्याएर छोडिदिने गरेका कारण लुकिछिपी प्रवेश गर्नेको संख्या बढेको नैरनापुर वडा नम्बर ६ का वडाध्यक्ष बिपी सिंहले नेपाल लाइभलाई जानकारी दिए।
भारतसँग जोडिएको नरैनापुरमा राति प्रवेश गर्नेहरुको संख्या पाँच सयभन्दा बढी भएको सिंहले जानकारी गराए। स्थानीय र प्रहरीले समेत थाहा नपाउने गरी अवैध बाटोबाट नेपाल प्रवेश गर्ने मानिसहरू नरैनापुरमा बढेको सिंहले बताए। उनले भने, ‘व्यवस्थापन गर्न गाह्रो भएको छ। भारतबाट नेपाल आउनेहरू बढिरहेका छन्।’
नैरनापुरका क्वारेन्टाइनमा रहेका २ सय ६२ जनाको स्वाब डाक्टरहरुको टोलीले शनिबार संकलन गरेको थियो। नैरनापुर गाउँपालिकामा ४ क्वारेन्टाइन रहेको सिंहले जानकारी दिए। मृतक युवा नैरनापुर–५ का हुन्। २९ वर्षीय उनी भगवानपुरस्थित क्वारेन्टाइनमा बसेका थिए।
उक्त क्षेत्र नेपालगन्जबाट २१ किलोमिटरको दूरीमा रहेको छ। स्थानीहरुले चलनचल्तीमा भारतीय रुपैयाँ बढी प्रयोग गर्ने बताइएको छ।