काठमाडौं- कोरोना भाइरस संक्रमण (कोभिड-१९) पछि ज्यान गुमाउन पुगेकी सुत्केरी महिलाको गाउँ सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–९ राम्चेमा ५५ जनाको स्वाब संकलन गरिएको छ। बागमती प्रदेशका विज्ञ चिकित्सक र सामाजिक विकास मन्त्री युवराज दुलालको उपस्थितिमा ५५ जना स्थानीयको स्वाब संकलन गरिएको हो।
मन्त्री दुलालका अनुसार ती महिलासँग सम्पर्कमा आएका घर र माइती पक्षका मानिसहरुको कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको हो।
स्थानीय प्रशासनद्वारा हिजोदेखि 'सिल' गरिएको सो गाउँमा बागमती प्रदेशको टोली पुगी ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा ५५ जनाको नमुना संकलनको काम सम्पन्न भएको मन्त्री दुलालले जानकारी दिए। नमुना संकलनको कार्य निरन्तर रुपमा र आवश्यकताको आधारमा जारी रहने उनले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट खटिएका डा झलक शर्मा गौतमका अनुसार थप १०० जनाको स्वाब संकलन गर्ने तयारी भएको छ।
अस्पतालबाट फर्केकी सुत्केरीको मृत्युपछि गाउँ नै त्रासको अवस्थामा रहेकाले सम्पूर्णलाई उच्च मनोबलसहित ‘सेल्फ क्वारेन्टाइन’मा रहन आग्रह गरिएको मन्त्री दुलालले बताए। ‘संकटको यो घडीमा सबै नेपाली थप जिम्मेवार र सचेत बन्न जरुरी भएकाले आफू सुरक्षित रही अरुलाई सुरक्षित राख्न उनीहरुलाई क्वारेन्टाइनमा रहन आग्रह गरेका छौं’, उनले भने।
२३ गते टिचिङ अस्पतालमा सुत्केरी भएकी उनी २५ गते सिन्धुपाल्चोकस्थित आफ्नो घर गएकी थिइन्। वैशाख १ गते श्वास फेर्न समस्या भएपछि उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लगाइएको थियो। स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताल लैजान रिफर रहेको थियो। धुलिखेल अस्पताल पुगे पनि शनिबार उनले ज्यान गुमाएकी थिइन्।
.jpg)
.jpg)
.jpg)
तस्बिर सौजन्य : डा झलक शर्मा गौतम