काठमाडौं- बाँकेको नरैनापुर ५ को क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकको अन्त्येष्टि गरिएको छ।
उनको आइतबार साँझ नै अन्त्येष्टि गरिएको छ। शुक्रबार साँझ ती युवाको स्वास्थ्यमा समस्या आएको थियो। उनलाई बान्ता हुने, झाडापखाला लाग्ने र ज्वरो समेत आएको थियो।
उनको स्वास्थ्यमा समस्या आउँदा समयमा स्वास्थ्यकर्मीलाई खबर नपुगेको बताइएको छ। नरैनापुर गाउँपालिकाले उनको स्वास्थ्यस्थिति बिग्रिएको खबर शनिबार बिहान ४ बजे मात्र पाएको बताइएको छ।
खबर पाएपछि नरैनापुर गाउँपालिकाकै एम्बुलेन्सलाई खबर गरियो तर एम्बुलेन्स सुत्केरी लिएर लक्ष्मणपुर स्वास्थ्य केन्द्र गएको खबर आयो।
गाउँपालिकाका एक कर्मचारीले भने,‘एम्बुलेन्सलाई पहिला फोन लागेन, लागेपछि सुत्केरी लएर गएकोले पु¥याएर आउँदा आउँदै बिरामीको ज्यान गइसकेको थियो।’
युवाको मृत्यु भएपछि सो क्वारेन्टाइनमा रहेका २६३ जनाको स्वाबको नमूना लिइएको छ। उनीहरुको आज(सोमबार) रिर्पोट आउने बताइएको छ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड१९ फोकल पर्शन नरेश श्रेष्ठले मृतकको सम्र्पकमा आएका ३११ जना व्यक्तिको पहिचान भएको र उनीहरुको पिसिआर परीक्षणका लागि नमूना संकलन गरिने जानकारी दिए।
उनले भने, ‘३१ गतेसम्म आएका सबैको परीक्षण गर्ने योजना बनाइरहेका छौँ, पालैपालो परीक्षण गर्छौँ।’
आइलोलेसन नहुँदा भएन स्वाब संकलन, फोकल पर्सन भन्छन्,‘सबैको परीक्षण हुन्छ’
बाँकेको राप्तिपारी कुनै अस्पताल छैन। नरैनापुर गाउँपालिकामा रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेन वार्ड बनाउने कुरा चलिरहेको छ।
ती युवा बसेको क्वारेन्टाइनमा उनीसहित अन्य ७ जनामा संक्रमण देखिएको छ। सोही पालिकाको अन्य क्वारेन्टाइनमा २ जनामा संक्रमण देखिएको छ।
सोही कारण स्वावको परीक्षण गर्दा धेरै व्यक्तिलाई संक्रमण देखिन सक्ने तर उनीहरुलाई राख्न आइसोलेसन वार्ड नभएकोले ३११ जनाको स्वाब संकलन सोमबार हुन नसक्ने बताइएको छ।
तर, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड१९ फोकल पर्शन नरेश श्रेष्ठले सो कुरा गलत भएको बताए।
उनले भने,‘यो कुरा गलत हो। हामीले क्वारेन्टाइनमा मृतकको सम्पर्कमा आएका सबैको परीक्षण गर्ने योजना बनाएको छौँ। संक्रमितको कन्ट्याक्टमा आएका व्यक्तिको ५ देखि १० दिनभित्र संक्रमण देखिन सक्ने भएकाले त्यो समयमा स्वाब संकलन गर्नुपर्ने हुन्छ। कसलाई आवस्वक छ भनेर पहिचान गर्नुपर्ने हुन्छ।’