काठमाडौं- आइसोलेसनको व्यवस्था नभएपछि बाँके नरैनापुरका ५९ कोरोना संक्रमितले क्वारेन्टाइनमा संक्रमण नभएकाहरुसँगै रात बिताएका छन्।
संक्रमितको संख्या बढ्न सक्ने पूर्वानुमान हुँदाहुँदै पनि बाँके सुरक्षा समितिले ती संक्रमितलाई संक्रमित नभएकाहरुबाट अलग्लै राख्न आइसोलेसनको व्यवस्था गर्न सकेन।
जिल्ला जनस्वास्थ्य कार्यालयका कोभिड१९ फोकल पर्सन नरेश श्रेष्ठले केही समयमा नै संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था हुने बताए।
उनले भने,‘कहाँ राख्ने छलफल भइरहेको छ। केन्द्र र प्रदेशसँग समन्वय भइरहेको छ। लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र राख्नेबारे केही फेरबदल हुन सक्ने सम्भावना छ। हिजो राति भएकाले कुनै निर्णय हुन नसकेको हो।’
नरैनापुरमा सोमबार मात्र दिउँसो ४७ र बेलुका १२ जना कोरोना संक्रमित थपिएका थिए। यसअघि जेठ १ गते भेटिएका ८ संक्रमितलाई दाङमा पठाइएको थियो।
बाँके सुरक्षा समितिले नरैनापुर २ मा रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नै आइसोलेसन राख्ने अनौपचारिक छलफल गरेपनि गाउँपालिकाले बत्तिलगायत अन्य कुनै सुविधा नभएकाले नेपालगञ्ज नजिकै आइसोलेसन बनाउनुपर्ने माग गरेको थियो।
नरैनापुर गाउँपालिकाका एक पदाधिकारीले भने, ‘नरैनापुर सुविधाको शहर नेपालगञ्जबाट ३५ किलोमिटर टाढा भएपनि दुुर्गम छ। अधिकांश मानिस निम्न आय भएका छन्। रोगले नि यहीँ डेरा जमायो। प्रशासनले अहिले पनि हामीलाई अपनत्व महसुस गराउन सकेन।’
उनले त्यसरी संक्रमित नभएकासँग संक्रमितलाई राख्दा गाउँभरी सबैलाई संक्रमण फैलन सक्ने आशंका व्यक्त गरे। भन्छन् - 'यो त जनस्वास्थ्यमाथि गम्भिर खेलबाड हो।'
‘समाचारमा ५९ संक्रमित भन्ने क्वारेन्टाइनमा बसेका सबैले थाहा पाएका छन्। को संक्रमित हो भन्ने थाहा छैन। एकअर्काबाटै सशंकित भएर बसिरहेका छन्,’ उनले थपे।
संक्रमितको नामावली गाउँपालिकामा पुगिसके पनि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई भने मंगलबार बिहानसम्म पनि को संक्रमित हो र को होइन भन्ने जानकारी अझै नदिएको गाउँपालिका एक कर्मचारीले जानकारी दिए।
'यो त चरम लापरबाही हो, क्वारेन्टाइन पनि मापदण्ड अनुसार छैन यसरी त संक्रमण भुसको आगोसरी फैलने खतरा देखिएको छ,' ती कर्मचारीले भने।