काठमाडौं- बाँके नरैनापुरमा सोमबार थप भएका ५९ जना कोरोना संक्रमितमध्ये २३ जनालाई नेपालगञ्जस्थित लायन्स डेन्टल अस्पताल खजुरारोडको आइसोलेसनमा राख्ने निर्णय भएको छ। अन्य ३६ जनालाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ।
सोमबार संक्रमित पुष्टि भएका उनीहरुलाई नरैनापुर गाउँपालिकाको अडानमा नेपालगञ्ज आइसोलनमा राख्ने निर्णय भएको हो।
सोमबार दिउँसो र साँझ गरी ५९ थपिएका संक्रमितहरु रातभर अन्य क्वारेन्टाइनमा रहेका व्यक्तिहरुसँगै बसेका थिए।
मंगलबार बिहान नेपालगञ्जबाट गएको स्वास्थ्य टोलीले क्वारेन्टाइनबाट संक्रमितलाई छुट्याएर अलग्गै राखेको बताइएको छ।
बाँकेमा वैशाखमै नेपालगञ्जको वडा नम्बर ८मा संक्रमण धेरैलाई देखिएपछि संत्रमित बढ्ने अनुमान गरिसकिएको थियो। तर, भारतबाट मानिसहरु आउने क्रम जारी गरहेको तर, न्यूनतम मापदण्ड समेत नपुगेको क्वारेन्टाइनमा मानिसहरुलाई राख्दा संक्रमण फैलिएको अनुमान गरिएको छ।
संक्रमित पत्ता लागेको दुई दिनसम्म पनि आइसोलेसनको ट्ंगो लगाउन नसकको भन्दै यतिबेला बाँके प्रशासनको आलोचना भइरहेको छ।
नरैनापुरमा सोमबार मात्र दिउँसो ४७ र बेलुका १२ जना कोरोना संक्रमित थपिएका थिए। यसअघि जेठ १ गते भेटिएका ८ संक्रमितलाई दाङमा पठाइएको थियो।