काठमाडौं- कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी १ सय ८७ जनाको स्वाब संकलन गरिएको छ।
मंगलबार मात्रै राम्चे, बाह्रबिसे बजार र प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सहित १ सय ३३ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए। यो सँगै बाह्रबिसे नगरपालिकाका १ सय ८७ जनाको स्वाब संकलन भएको छ।
११ जना सुरक्षाकर्मीको पनि स्वाब संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। यी बाहेक कन्ट्याक्ट् ट्रेसिङ गरि थप व्यक्तिको स्वाबसमेत लिइने जनस्वास्थ्य अधिकृत चापागाईंले बताए।
सोमबार राम्चेमा गरिएको ५५ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो। उक्त स्वाबको रिपोर्ट आज साँझसम्म आइपुग्ने उनले बताए। चापागाईंका अनुसार मृत्यु भएकी महिलासँग सम्पर्कमा रहेका परिवार, आफन्त, स्थानीय र स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको हो। माइती पक्षका सवै आफन्त र उनलाई भेट्न पुगेका व्यक्तिहरुको पनि स्वाब संकलन गरिएको उनले बताए।
थप संकलन भएका स्वाबहरु पुनः परिक्षणका लागि पठाउने तयारी भइरहेको छ।