काठमाडौं- मंगलबार उपत्यकामा देखिएका ५ संक्रमितमध्ये एक जना स्वास्थ्य सेवा विभागमा कार्यरत करारका चिकित्सक भएको बताइएको छ।
मंगलबार उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो। जसमध्ये ललितपुरका भनिएको संक्रमित स्वास्थ्य सेवा विभाग अन्तर्गत करारका चिकित्सक रहेको पाइएको छ।
ललितपुरमा देखिएका कोरोना संक्रमित स्वास्थ्य विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य चिकित्सक रहेको स्रोतले जानकारी दियो।
मंगलबार ललितपुरमा १, भक्तपुरमा १ र काठमाडौंमा ३ जनामा कोरोना संक्रमण देखिएको थियो।
नेपालमा डाक्टरमा कोरोना संक्रमण देखिएको सम्भवत यो नै पहिलो हो। यसअघि धनकुटामा कार्यरत एक नर्स, वीरगञ्ज नारायणी अस्पतालमा कार्यरत एक नर्स र तौलिहवा अस्पतालमा कार्यत एक नर्स गरी तीन जना नर्समा कोरोना संक्रमण देखिएको थियो।