काठमाडौं- संक्रमित पुष्टि भएको २ दिन बित्दा पनि बाँके नरैनापुरका ५९ कोरोना संक्रमितलाई आइसोलेसनमा राखिएको छैन।
७ महिनाको बच्चासहितकी एक महिला र ५८ पुरुषहरुलाई अझै आइसोलेसनमा नराख्दा उनीहरुको बिचल्ली भएको छ। सात महिनाको बच्चालाई भने संक्रमण देखिएको छैन।
बाँकेको कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले मंगलबार २३ संक्रमितलाई नेपालगञ्ज खजुरारोडमा रहेको लायन्स डेन्टल हस्पिटल र बाँकीलाई कृषि विकास बैंक तालिम केन्द्र पिपिरी कोहलपुरमा राख्ने निर्णय गरेको थियो।
तर, आफैंले गरेको निर्णय लागू गर्न नसक्दा संक्रमितहरुको बिचल्ची भएको छ। संक्रमित पुष्टि भएपछि कहाँको आइसोलेसनमा राख्ने भन्ने निर्णय गर्न २४ घण्टा समय लगाएको बाँके प्रशासनले ४८ घण्टा बित्दा समेत संक्रमितलाई व्यवस्थापन गर्न सकेको छैन।
जिल्ला जनस्वास्थ्य कार्यालयको कोभिड१९ फोकल पर्सन नरेश श्रेष्ठले बुधबार उनीहरुलाई व्यवस्थापन गरिने बताए। उनले महिला र बच्चाका लागि छुट्टै व्यवस्थापन हुने बताए।
उनले भने,‘उहाँहरुलाई नेपालगञ्ज ल्याइसकिएको छ। सबैलाई अहिले राखिएकै लायन्स डेन्टल हस्पिटलमा अन्य बेड थपेर राख्ने भन्ने विषयमा समेत छलफल भएको छ।’
नेपाली सेनाको टोलीले अबेर राति नरैनापुरबाट ल्याएका संत्रमितलाई कृषि विकास बैंक तालिम केन्द्र राख्न खोज्दा स्थानीयबासि विरोध गरेका थिए।
प्रशासनले निर्णय गरेलगत्तै विरोधमा उत्रिएका कोहलपुरबासिसँग कुरा नमिलेपछि ५९ संक्रमितलाई लायन्स डेन्टल हस्पिटलकै आइसोलेसनमा कोचाकोच गरेर राखिएको हो।
सबैलाई २५ जनामात्र क्षमता भएको आइसोलेसन राखि बाँके प्रशासनले निरिहता प्रदर्शन गरेको भन्दै आलोचना भइरहेको छ।
बुधबार पनि बाँके क्राइसिस म्यानेजमेन्ट सेन्टरले तालिम केन्द्र मै राख्ने प्रयास जारी राखेको समेत बताइएको छ।
मंगलबार बाँके प्रशासनले संक्रमितको संख्या भप बढ्न सक्ने भन्दै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको पुरै भवनहरु कोभिड१९ का लागि प्रयोग गर्ने निर्णय गरेको छ। साथै लक्षण भएका संक्रमितलाई नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा तथा लक्षण नभएका संक्रमितलाई खजुरास्थित कृषि व्यवसाय सहयोग प्रवद्र्धन तथा तालिम केन्द्रमा राख्ने निर्णय गरेको छ।