काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमणमुक्त भएका तीन जनालाई डिस्चार्जको तयारी गरेको छ।
उनीहरुलाई विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका र अहिले संक्रमणमुक्त भएकाले डिस्चार्जको तयारी गरिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए।
त्यस्तै, सोमबार मात्रै काठमाडौंमा संक्रमण पुष्टि भएका तीन जनालाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी सूचना अनुसार टोखा नगरपालिका वडा नम्बर ३ र ६ तथा बुढानिलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको थियो।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
अस्पताल निर्देशक डा राजभण्डारीका अनुसार अस्पतालमा हाल ५ जना उपचाररत छन्। तीन जना डिस्चार्ज भएर फेरि ३ जना भर्ना हुने हुँदा अस्पतालमा उपचारका लागि संक्रमितको संख्या ५ नै हुने भएको छ।