काठमाडौं- सरकारले नेपालमा ५ हजार बढी संक्रमित देखिने पूर्वानुमानका साथ तयारी गरिरहेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड१९ मिडिया बिफ्रिङमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले पहिले १५ सय संक्रमित देखिने गरी तयारी गरिरहेको भएपनि पछिल्ला दिनमा संक्रमित संख्या ५ हजार बढी देखिने अनुमान गरिएको बताए।
उनले भने,‘हामीले १५ सय केसलाई आधार मानेर पूर्वानुमान गरेका थियौँ। अहिले केस बढेसँगै पुनवरालोकन गरेका छौं। पाँच हजार केसलाई चाहिने सामग्रीहरुलाई आधार मानेर काम अघि बढाएका छौं।'
उनले हालसम्म एकलाख भिटिएम प्राप्त गरेकामा विभिन्न जिल्ला प्रदेशमा ८८ हजार वितरण गरेको बताए। विभागमा अब १२ हजार मौज्जात रहेको छ। उनले २ लाख पाँच हजार भिटिएम खरीदका लागि प्रक्रिया अघि बढाएको बताए।
उनले भने,‘हालसम्म एक लाख २८ हजार पिसिआर किट प्राप्त गरेका थियौँ। ७८ हजार वितरण गरेका छौँ भने ५० हजार मौज्जात छ। एकलाख ७५ हजार किट खरीदका लागि प्रक्रिया अघि बढाएका छौं।’
चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा कबच पिपिई एक लाख ४६ हजार प्राप्त भएकोमा ५४ हजार पिपिई प्रदेश र जिल्लाहरुलाई वितरण गरेको डोटेलले जानकारी दिए।
‘अहिले हामीसँग ९२ हजार पिपिई सेटमा मौज्जात रहेको छ। सेटभित्र बाहेक हामीसँग मास्क १५ लाख, एन९५ मास्क एक लाख ८० हजार, ग्लोब्स २ लाख ७८ हजार, सुकभर ५३ हजार, सर्जिकल क्याव १७ हजार, आइआर थर्मोमिटर ६ सय वटा स्टक छन्।’
व्यवस्थापन महाशाखाले प्रदेश र जिल्लाका अस्पतालमा पुग्ने गरी मास्क १७ लाख, पिपिई सेट ५७ हजार, एन९५ ५२ हजार र स्यानीटाइटाजर १० हजार बोटल वितरण गरेको डोटेलको भनाई छ।
उनले यी स्वास्थ्य सामग्री विभिन्न दातृनिकाय, सामाजिक संस्था र सहयोगी संस्थाबाट प्राप्त भएको उनले बताए।
उनले प्राप्त सामग्रीको वितरण प्रणाली प्रारर्दशी बनाउन एलएमआइएसको सूचना प्रणालीमार्फत व्यवस्थापन र मोटिटोरिङ गरिरहेको जानकारी दिए। उनले यी सामग्री प्रदेश निर्देशनालय र आपूर्ति केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक अस्पतालमा सामान पठाइरहेको बताए। डोटेलका अनुसार हालसम्म ९२ करोडको सामग्री सम्झौता गरी प्राप्त गरेको र ६६ करोडको सामग्री खरीदको प्रक्रिया रहेको जानकारी दिए।
उनले एक लाख ७५ हजार आरडिटी किटमध्ये ८० हजार फिल्डमा रहेको र त्यसको रिर्पोट आउने क्रम जारी रहेको बताए। डोटेलले सरकारले एक लाख २१ हजार किट खरीदका लागि प्रक्रिया अघि बढेको समेत जानकारी दिए।