काठमाडौं- सरकारले उपलब्ध गराउने विपन्न नागरिक औषधि उपचार अन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा करीब ४० हजार जनाले सेवा लिएका छन्। यो फागुन मसान्तसम्मको तथ्यांक हो।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा ४० हजार ७ सय ४३ जनाले विपन्न नागरिक उपचार कोष अन्तर्गत सेवा लिएका हुन्। सरकारले विपन्न नागरिकको उपचारका लागि एक लाखसम्मको रकम उपलब्ध गराउँदै आएको छ।
उपचार लिनेमा क्यान्सरका बिरामीको संख्या सबैभन्दा धेरै छन्। फागुन मसान्तसम्मको तथ्यांक अनुसार क्यान्सरका २५ हजार ५ सय २५ जनाको उपचार लिएका छन्। यसअघि आर्थिक वर्ष २०७५/७६ मा ३७ हजार १ सय २१, आर्थिक वर्ष २०७४/७५ मा १० हजार ६ सय ८, आर्थिक वर्ष २०७३/७४ मा ८ हजार ६ सय ४३ जना क्यान्सरका बिरामीले उपचार लिएको सर्वेक्षणमा उल्लेख गरिएको छ।
क्यान्सरपछि सबैभन्दा बढी उपचार लिनेको सूचीमा मुटु, मिर्गौला हेमोडायलासिस, सिकलसेल एनिमिया, स्याइनल इन्जुरीका बिरामी छन्। मुटुका ३ हजार ७ सय ३१ जनाले उपचार लिएका छन् भने ३ हजार ५ सय १ जनाले विपन्न नागरिक उपचार मार्फत मिर्गौलाको हेमोडायलासिस गराएका छन्। सिकलसेल एनिमियाका २ हजार ९ सय ९९ जना र स्पाइनल इन्जुरीका १ हजार ४ सय २७ जनाले उपचार लिएको सर्वेक्षणमा उल्लेख छ।
यस अघि आर्थिक वर्ष २०७५/७६ मा ५३ हजार ३ सय ३०, आर्थिक वर्ष २०७४/७५ मा २१ ह्जार ८ सय २०, आर्थिक वर्ष ७३/७४ मा १५ हजार ३ सय ८५ र आर्थिक वर्ष ७२/७३ मा ८ हजार १ सय १९ जनाले सेवा लिएका थिए।