काठमाडौं - कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै प्रदेश ५ र २ मा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेश ५ र २ मा समान ५ सय ४७ जना संक्रमित देखिएको हो।
उपचारपछि डिस्जार्च हुनेको संख्या पनि यी दुई प्रदेशमै धेरै छन्। डिस्जार्च हुनेको संख्या प्रदेश २ मा १ सय ४ र प्रदेश ५ मा ४८ जना छन्। प्रदेश ५ मा हाल ४ सय ९६ जना आईसोलेसनमा र ३३ हजार ४ सय ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश २ मा ४ सय ४२ जना आईसोलेसनमा र १८ हजार ९ सय ७१ जना क्वारेन्टाइनमा छन्। कोरोनाको संक्रमणका कारण प्रदेश ५ मा ३ र प्रदेश २ मा एक जनाको मृत्यु भएको छ।
प्रदेश ५ र २ पछि प्रदेश १ यसको तेस्रो सूचीमा छ। प्रदेश १ मा १ सय ६० जना संक्रमित छन्। हाल १ सय ३० जना आईसोलेसनमा र ३ हजार १ सय ६१ जना क्वारेन्टाइनमा छन्। डिस्जार्च हुनेको संख्या त्यहाँ ३० पुगेको छ।
चौथो नम्बरमा रहेको कर्णाली प्रदेशमा ६१ जना संक्रमित भेटिएका छन्। उनीहरु सबै अस्पतालको आईसोलेसनमा भर्ना भई उपचाररत छन्। १८ हजार ९ सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
बागमती प्रदेशमा ४५ जना संक्रमित भेटिएकोमा २८ जना उपचारपछि डिस्जार्च भएका छन्। दुई जनाको मृत्यु भएको छ। हाल १५ जना आईसोलेसनमा र २ हजार २ सय २३ जना क्वारेन्टाइनमा छन्।
सुदूरपश्चिम प्रदेशमा २१ जना संक्रमित छन्। जसमध्ये ६ जना उपचारपछि डिस्जार्च भएका छन् भने १५ जना आईसोलेसनमा छन्। मन्त्रालयका अनुसार त्यहाँ ३० हजार ३ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ।
सात प्रदेशमध्ये सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना संक्रमित भेटिएका छन्। १७ जना आईसोलेसनमा छन् भने डिस्जार्च हुनेको संख्या ३ छ। हाल त्यहाँ ३ हजार २६ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।