काठमाडौं- कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। शुक्रबार १४ जनामा संक्रमण देखिएको प्रदेशमा शनिबार एकै दिन थप ५९ जनामा संक्रमण देखिएको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले शनिबार राती ९:४५ मा सार्वजनिक गरेको विवरण अनुसार प्रदेशमा १ जना महिला र ५८ जना पुरुषमा संक्रमण देखिएको हो।
जुम्लास्थति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतको प्रयोगशाला परीक्षणमा नयाँ संक्रमित पुष्टि भएको हो। शनिबार थपिएका ५९ सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ। संक्रमितमध्ये शनिबार १ जनाको मृत्यु भएको छ।
दैलेख दुल्लु नगरपालिकका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। दैलेख दुल्लु नगरपालिका ७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा रहेका उनको शनिबार बिहान ७ बजे मृत्यु भएको थियो।
कर्णालीमा थप भएका ५९ संक्रमितसहित नेपालमा संक्रमितको संख्या १ हजार ४ सय ६० पुगेको छ।