काठमाडौं - अस्पतालमा ड्युटीमा कार्यरत चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै नेपाल मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा छन्।
जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए। चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै उनीहरु चार दिनदेखि आन्दोलनमा छन्।
अस्पताल प्रशासनले सुरक्षाको प्रत्याभुति गराउनुको साटो सिसिटिभी फुटेज लगायत प्रमाण नष्ट गरेको उनीहरुको आरोप छ। कारबाही प्रक्रियामा असहयोग गरेको भन्दै आइतबार अस्पतालको प्रशासनमा तालाबन्दी गरिएको नेपाल मेडिकल कलेजका रेजिडेन्ड डाक्टर सुम्निमा मैनालीले बताइन्।
उनले भनिन्, ‘ड्युटीमा रहेका चिकित्सक माथि हातपात भएको छ। त्यो प्रमाण अस्पतालको सिसिटिभी फुटेजमा थियो। तर अस्पतालले सिसिटिभी फुटेज डिलिट गरेर प्रमाण नष्ट गरेका छन्। हामीले दोषिलाई कारबाहीको माग मात्र गरेका छौं। हामी सुरक्षित नभई कसरी काम गर्ने?’
आफुहरुलाई पटक पटक विभिन्न धम्की समेत आउने गरेको उनले बताइन्। सुरक्षाको प्रत्याभूति नभई काम गर्न नसक्ने उनीहरुको भनाई छ।
जेठ १४ गते उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए।
अस्पतालका चिकित्सकको आन्दोलन र मागप्रति सबैतिरबाट समर्थन आइरहेको छ।
