काठमाडौं- कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित बिफ्रिङमा बाजुराकी दुई वर्षिया बालिकाको आइतबार बिहान २:३० बजे मृत्यु भएको जानकारी दिए। उनको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको छ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका ८ जनाको मृत्यु भएको छ।
ती बालिकालाई ज्वरो, श्वासप्रस्वासको समस्या र पखला देखिएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको थियो। उनको बाजुरा जल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
ती बालिका आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएको बताइएको छ।
शनिबार दैलेख दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।
नेपालमा हालसम्म १ हजार ५ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये २२० जना उपचारपछि निको भएका छन्।