काठमाडौं- नेपालमा कोरोनासँगै डेंगुको जोखिम बढ्दै गएको छ।
पछिल्लो ६ महिनामा डेंगुका ८२ जना संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
हालसम्म २६ जिल्लामा डेंगु फैलिएको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए। सबैभन्दा धेरै संक्रमित रुपन्देही जिल्लामा भेटिएको छ। त्यहाँ ३५ जना संक्रमित भेटिएको महाशाखाले जनाएको छ।
रुपन्देहीपछि म्याग्दीमा १२, कास्कीमा १०, काठमाडौंमा ७, सुनसरी र ललितपुरमा ४÷४ जना डेंगुका संक्रमित भेटिएका छन्। कपिलवस्तु र मोरङमा ३÷३, बागलुङ, कैलाली, धनकुटा, नुवाकोट र धादिङमा २÷२ जना, मकवानपुर, गोरखा, तनहुँ, नवलपरासी, पाल्पा, नवलपरासी पश्चिम, डडेल्धुरा, बाँके, दाङ, रामेछाप, उदयपुर र झापामा १÷१ जना संक्रमित भेटिएको महाशाखाले जनाएको छ।
गत वर्ष महामारीको रुप लिएको डेंगुबाट ६८ जिल्लाका १६ हजार मानिस बिरामी भएका थिए। जसमध्ये ६ जनाको मृत्यु भएको थियो।
विश्वमा पनि डेंगुको जोखिम बढीरहेकाले सतर्क रहन डा. पाण्डेले आग्रह गरेका छन्। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु एक व्यक्तिबाट अर्को व्यक्ति सर्ने गर्छ। समयमै उपचार पाए यो रोग सहजै निको हुन्छ भने यसले जटिल रुप लिए बिरामीको मृत्यु समेत हुने डा. पाण्डेले बताएका छन्।
डेंगुको संक्रमण हुँदा एक्कासी ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मासंपेशी दुख्ने, झाडापखाला लाग्ने, बिमिरा आउने लगायत लक्षण देखापर्ने महाशाखाले जनाएको छ।
जमेको पानीमा यो लामखुट्टेले लार्भा पार्ने हुँदा घर वरिपरि सफा राख्न सरकारले सबैमा आग्रह गरेको छ। डेंगुको उपचारमा प्रयोग हुने भ्याक्सिन हालसम्म बनेको छैन।
नेपालमा डेंगुसँगै मलेरिया, सर्पदंश, झाडापखालाको जोखिम पनि बढ्दै गएको डा. पाण्डेले बताए। हालसम्म १५ जनामा मलेरिया पुष्टि भएको महाशाखाले जनाएको छ।