काठमाडौं- डोटीको दानकोट स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मी स्थानीयको कुटपिटपछि अस्पताल भर्ना भएका छन्।
कोरोनाको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउँदै गर्दा स्थानीयले कोरोना सार्ने भन्दै स्वास्थ्यकर्मी रमेश कुँवरलाई ढुंगा हानेर घाइते बनाएका हुन्। स्थानीयको निर्घात कुटपिटपछि उनी राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएको नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपक भट्टले जानकारी दिए।
उनको देब्रे आँखा, टाउको र हातमा चोट लागेको छ। हाल उनी खतरामुक्त रहेको जानकारी दिँदै भट्टले भने, ‘कोरोनाको उपचारमा प्रयोग हुने सामग्री ल्याउँदै गर्दा बाटोमा उहाँलाई केही हुलले कोरोना सार्छै भन्दै ढुंगाले हानेर निर्घात कुटपिट गरेका छन्।’
कुँवरलाई कुटपिट गर्ने तीन जनालाई प्रहरीले हिरासतमा लिएको उनले जानकारी दिए। उनलाई कुटपिट गर्ने सबैलाई कडा कारबाही हुनुपर्ने उनको माग छ। सरकारले स्वास्थ्यकर्मी माथि कुटपिट गर्नेलाई कारबाही गर्ने कानून नल्याएसम्म आफुहरु सुरक्षित नहुने उनको भनाइ छ।
‘भारतमा सरकारले कानून ल्याएको छ। नेपालमा ऐन कानून नआएसम्म हामी सुरक्षित हुँदैनौँ,' उनले भने, 'यस्तो अवस्थामा हामीले कसरी काम गर्ने?’