काठमाडौं- जोरपाटीस्थित नेपाल मेडिकल कलेजको चिकित्सक माथि कुटपिट गर्ने दोषिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जाँदैछन्।
घटना भएको आठौं दिन हुँदापनि दोषि माथि कारबाही नभएको भन्दै उनीहरु स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्न मन्त्रालय जान लागेका हुन्। कारबाहीका लागि दबाब स्वरुप दिउँसो २ बजे मन्त्रालय जान लागेको नेशनल मेडिकल स्टुडेण्ट एशोसिएनसका अध्यक्ष डा. सुजन कडरियाले बताए।
चिकित्सकलाई कुटपिट गर्ने, अस्पतालको सिसिटिभि फुटेज डिलिट गर्नेलाई कारबाही र जेल विथ आउट विलको माग मन्त्री सामु राखिने डा. कडरियाले बताए। दोषिलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चिकित्सकहरुले बताएका छन्।
चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै नेपाल मेडिकल कलेजका चिकित्सक सहित देशभरका चिकित्सक आठौं दिनदेखि आन्दोलनमा छन्। आफुहरु सुरक्षित नभई सेवामा खटिन नसक्ने उनीहरुको भनाई छ।
जेठ १४ गते उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए।