मुख्य समाचार

इपिसेन्टर दुल्लु: क्वारेन्टाइनबाटै भाग्ने खतरा, संक्रमण भयावह हुने त्रास

२ डाक्टर, दुवै क्वारेन्टाइनमा 

काठमाडौं- जेठ ८ गते स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित पुष्टि भएको घोषणा गर्‍यो। त्यसको दुई साता नबित्दै कर्णाली प्रदेशमा संक्रमितको संख्या १९८ पुगेको छ भने एक जनाले ज्यान गुमाएका छन्।

कर्णाली प्रदेशमा दैलेख, आठबीस नगरपालिकाका ३५ वर्षीय पुरुषमा पहिलो पटक कोरोना पोजिटिभ पाइएको थियो भने पहिलो ज्यान गुमाउने दुल्लु नगरपालिकाका ३५ वर्षीय व्यक्ति हुन्। अहिले कर्णालीका ५ जिल्लामा संक्रमण फैलिइसकेको छ।

सोमबार मात्र कर्णाली प्रदेशमा ७५ जना नयाँ संक्रमित थपिए। नयाँ थपिनेमा दैलेख, सल्यान, सुर्खेत र जुम्लाका हुन्। शनिबार दैलेखको दुल्लु नगरपालिका एक व्यक्तिले क्वारेनटाइनमै ज्यान गुमाए। त्यसयता लगातार कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ।

कर्णालीको इपिसेन्टर दुल्लु र नारायणचौर
१७ गते मात्र दैलेखमा मात्र १५ जना संक्रमित थपिएका थिए। १९ गते पनि यो क्रम रोकिएन। १९ गते थपिएका ४१ जना दैलेखका थिए। ती संक्रमित दुल्लु र नारायण नगरपालिकाका थिए। यसै त दुर्गम त्यसपछि भारतबाट फर्कनेको संख्या बढेसँगै यहाँको अवस्था भयावह हुन थालेको छ। 

१० जना परीक्षण गर्दा ८ संक्रमित, एकको मृत्यु 
दुल्लु नगरपालिकाका कार्यकारी प्रमुख ज्ञानमणि नेपालले यहाँको अवस्था निकै भयावह भएको टिप्पणी गरे। ‘सोमबारसम्म १० जनाको परीक्षण रिपोर्ट आउँदा ८ जनामा संक्रमण पुष्टि भएको छ। एक जनाले ज्यान गुमाएका छन्’, नेपालले भने, ‘यही अनुपातमा संक्रमण फैलिँदै जाने हो भने क्वारेनटाइनमा रहेका सबैमा कोरोना देखिन्छ।’  

अधिकांश व्यक्ति भारतको मुम्बई र गुजरातबाट आएकाले उनीहरुमा संक्रमण पुष्टि हुने सम्भावना धेरै रहेको उनले बताए। भारतको पनि धेरै कोरोना संक्रमित भएको स्थानबाट उनीहरु आएकाले यहाँको अवस्था निकै जोखिमपूर्ण रहेको उनको भनाइ छ।

नगरपालिकाले ४० वटा स्कुलमा २५ सय जनालाई क्वारेनटाइनमा राखेको उनले बताए। २०७ जना त एउटै स्कुलको क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए। 

आएन रिपोर्ट 
क्वारेन्टाइनमा राखिएका व्यक्तिको स्वाब संकलन गरिएको ६ दिन बितिसक्दा पनि परीक्षणको रिपोर्ट नआएर समस्या भएको उनको गुनासो छ। ‘सुरुमा स्वाब संकलन गरेर सुर्खेत पठाउने भनेका थियौं,’ नेपालले भने, ‘तर त्यहाँबाट १० दिन लाग्ने जवाफ आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएको छौं, तर रिपोर्ट आएको छैन।’ 

दुल्लु नगरपालिकमा क्वारेन्टाइनमा बस्नेहरु हिजोसम्म २३ सय रहेको र आज बढेर २५ सय पुगेको उनले बताए। कार्यकारी प्रमुख नेपालले भने, ‘पहिलाकै २०० जनाको रिपोर्ट आएको छैन, अरुको कहिले पठाउने र कहिले रिपोर्ट आउने ठेगान छैन।’ 

संघीय सरकारको सहयोग नै नभएको उनको गुनासो छ। ‘पिसिआर परीक्षण गर्ने जनशक्ति नै भएन,’ नेपालले भने। दुल्लुका मात्र १० हजार मानिस भारतमा रहेको नगरपालिकाको अनुमान रहेको उनले बताए। यी सबै कोरोनाको इपिसेन्टर मुम्बई र गुजरातमा रहेकाले उनीहरु आएपछि आगामी दिन झन खतरापूर्ण रहेको उनको भनाइ छ।

२ डाक्टर, दुवै क्वारेन्टाइनमा 
अहिले दैलेखमा चिकित्सकको अभाव भएको उनले बताए। जम्मा दुई जना डाक्टर रहेकामा दुवै जना क्वारेन्टाइनमा रहेको जानकारी उनले दिए। ‘एक जनाले सुत्केरीको परीक्षण गर्नु भएको थियो, ती सुत्केरीलाई कोरोना पोजेटिभ देखिएपछि उहाँ क्वारेन्टाइनमा जानुभयो,’ नेपालले भने, ‘अर्का डाक्टरले स्वाब तान्नु भएको थियो, उहाँ पनि क्वारेन्टाइनमा जानु भएको छ।’

अब कोही बिरामी भयो भने सामान्य औषधि सिफारिस गर्नेको पनि अभाव भएको उनले बताए। 

पिसिआरको विकल्प देखिएन 
सरकारले र्‍यापिड टेस्टका लागि भन्दै पठाएको किटले झन् समस्या निम्त्याएको नेपालको अनुभव छ। 'केही दिन पहिले यहाँ एक सुत्केरी र केही व्यक्तिलाई र्‍यापिड टेस्ट गरिएको थियो, रिपोर्ट नेगेटिभ आयो। फेरि शंका लागेर पिसिआर गर्दा पोजेटिभ आयो,’ उनले भने, ‘यो भरपर्दो देखिएन, पोजेटिभ आएकाहरुमा नेगेटिभ आयो र नेगेटिभ आएकामा पोजेटिभ देखियो। पिसिआर टेस्ट गर्नुको विकल्प छैन।’ 

किनौं आर्थिक ऐनअनुसार मिल्दैन, नकिनौं परीक्षण किट छैन 
नगरपालिका अहिले चेपुवाका परेको उनले बताए। ‘२५ सय व्यक्ति क्वारेन्टाइनमा छन्। उनीहरु सबैको परीक्षण गर्नुपर्ने छ। नगर्दा कोरोना पत्ता लाग्दैन, गरौं सामग्री छैन,’ नेपालले भने, ‘नगरले नै किनौं भने आर्थिक ऐनले दिँदैन, भोलि अख्तियार धाउनुपर्छ। नकिनौं नागरिक मर्ने भए।’

केन्द्र सरकारले सहयोग पर्याप्त नगरेको गुनासो उनले गरे। प्रदेशबाट १० लाख रुपैयाँ आएको तर स्वाब संकलन मात्र गरेर नभई रिपोर्ट आउन समय लाग्ने भएकाले समस्या भएको उनले बताए।

क्वारेनटाइनबाट भाग्ने खतरा 
भारतबाट आएर १५ दिनदेखि क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन नसकेको र परीक्षण भएकाहरुको पनि रिपोर्ट आउन ढिलो भएपछि स्थानीयको दबाब आउन उनले बताए। नेपालले भने, 'परीक्षण गरौं किट छैन, तत्काल रिपोर्ट पनि आउदैन। कति दिन थुनेर राख्ने भनेर उनीहरु आन्दोलित हुन थालिसके।’

मानिसहरु क्वारेन्टाइनबाट भाग्ने र गाउँभरि फैलने  त्रास सिर्जना भएको उनले बताए।

नगरपालिकाले २ हजार किट किनेर ल्याएको तर यो प्रयोगमै नआउने अवस्था आएको उनले बताए। संघीय सरकारको ध्यान नपुगेकाले यस्तो अवस्था आएको उनको भनाइ छ। यो समस्या संघीय सांसदलाई पनि जानकारी गराएको र उनले सांसद विकास कोषवाट रकम दिने बताएको तर किन्न सक्ने अवस्थामा आफूहरु  नभएको उनले बताए।

‘२ वर्षको बच्चादेखि गर्भवती महिलासम्मलाई कोरोना संक्रमण देखिएको छ,’ नेपालले भने, ‘क्वारेनटाइनमा रहेकाहरु घर जान्छौं भन्छन्, गाउँका मानिस परीक्षण नगरी नछोड्नु भन्छन्, अवस्था भयावह छ।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने