काठमाडौं- कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ९ सय २४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८० हजार २ सय ६७ जनाको पिसिआर र १ लाख २० हजार ३ सय ७९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
बुधबार २ सय १ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ। जसमध्ये २ सय ७८ जना उपचारपछि डिस्चार्ज भएका छन्। मृतकको संख्या ९ पुगेको छ। बुधबार १२ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको हो।
प्रदेश १ मा ४८, प्रदेश २ मा १ सय ९, बागमतिमा ३१, गण्डकीमा ३, प्रदेश ५ मा ८० र सुदूरपश्चिम प्रदेशमा ७ जना उपचारपछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मुलुकभर हाल १ लाख ५५ हजार ८ सय ६८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा संक्रमित भेटिएसँगै संक्रमण फैलिएको जिल्लाको संख्या ६४ पुगेको छ।