काठमाडौं- सहमति बिना सम्झौता गरेको भन्दै नेपाल मेडिकल कलेजका चिकित्सकले आन्दोलन स्थगित नगर्ने बताएका छन्। आफ्नो सहमति र संलग्नता बिना सम्झौता भएको भन्दै उनीहरुले आन्दोलन जारी रहने बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बुधबार पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित गर्ने केही चिकित्सकले सम्झौता गरेका थिए।
नेशनल रेसिडेण्ड डक्टर्स एशोसिएन, रेसिडेण्ड एशोसिएसन अफ काठमाडौं युनिभर्सिटीको तर्फबाट डा तोसिमा कार्की, रेसिडेण्ट एशोसिएसन अफ न्याम्सको तर्फबाट डा प्रकाश भट्टराई, जुनियर रेसिडेण्ट वेलफेयर सोसाइटीको तर्फबाट डा कविराज पौडेल र नेपाल मेडिकल काउन्सिलको तर्फबाट डा कालु सिंह खत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार दोषिलाई पहिचान गरी तीन दिन भित्र कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयलाई अनुरोध गर्ने, अस्पतालको सिसिटिभि फुटेज नष्ट गर्ने वा प्रमाण मेट्ने प्रयास गर्ने सम्पूर्ण व्यक्तिलाई कारबाहीका लागि तीन दिन भित्र पहल गर्ने, जेल विथ आउट बेल को लागि पहल गर्ने लगायत पाँच बुँदे सहमित उनीहरुले गरेका थिए।
बुधबार भएका कुनै पनि सम्झौतामा आफुहरुको सहमति नभएको नेपाल मेडिकल कलेजका रेसिडेण्ट डा सुम्निमा मैनालीले बताइन्। उनले भनिन्, ‘केही साथीहरुले एक्लौटी ढंगले सम्झौता गर्नु भएछ। तर हामीले आन्दोलन स्थगित गरेका छैनौ। यसमा हाम्रो कुनै पनि सहमति छैन।’
बुधबार नै नेपाल मेडिकल कलेजका चिकित्सक सहितको टोली पनि दोषिलाई कारबाहीको माग गर्दै मन्त्रालय पुगेका थिए। तर छलफलमा कुनै निष्कर्ष नस्किएको भन्दै उनीहरु फर्किएका थिए।
नेशनल मेडिकल स्टुडेण्ट एशोसिएसनका अध्यक्ष डा. सुजन कडरियाले भने, ‘केही असम्बन्धित चिकित्सकको टोली मन्त्रालयमा पुगी आन्दोलनलाई स्थगित गर्ने धोकापूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन्। जुन हाम्रो सहमति बिना भएको हो। हामी दोषिलाई कारबाहीको माग गर्दै अझै पनि आन्दोलनमा छौं र हाम्रो आन्दोलन थप सशक्त बनाउँछौं।’
कुनै पनि स्थानमा आन्दोलन स्थगित नभएको उनले जानकारी दिएका छन्। दोषिलाई कारबाही नभएसम्म आन्दोलन नरोकिने र थप सशक्त बनाउने उनले बताए।
जेठ १४ गते उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए। उनीहरु दोषिलाई कारबाहीको माग गर्दै नवौं दिनदेखि आन्दोलनमा छन्।
यस्तो छ बुधबार भएको सहमित
