काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्यन संस्थान (आइओएम) को डिन पद बिहिबारबाट रिक्त भएको छ। प्राडा जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण अवकास पाएसँगै डिन पद रिक्त भएको हो।
डा अग्रवालले अवकाश पाउनु अघि देखिनै डिनका लागि आइओएमभित्रका प्राध्यापक चिकित्सकहरु आ-आफ्ना तर्फबाट प्रतिस्पर्धामा उत्रिएका थिए। डा अग्रवालको अवकाशसँगै यो प्रतिस्पर्धाले तीव्रता पाएको छ।
आइओएम कुनै समय दक्षिण एसियाकै नमूना संस्थाका रुपमा चर्चित थियो। आइओएमको शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को नाम उस्तै थियो। तर, राजनीतिक खिचातानी, पदाधिकारी नियुक्तिमा चलखेल, निजी मेडिकल कलेजको सम्बन्धन र कोटामा अनियमितता तथा परीक्षामा विवादका कारण आइओएमको साख खस्दै गयो।
राजनीतिक नियुक्ती र आर्थिक चलखेलका कारण धरासायी बन्दै गएको देखेपछि प्राध्यापक डा गोविन्द केसीले संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नु पर्ने माग राखे। ०६६ सालदेखि उनले संस्थामा योग्य र दक्ष व्यक्तीलाई नियुक्ती गर्नुपर्ने, सम्बन्धन, भर्ना, परीक्षामा हुने चलखेल रोक्नु पर्ने भन्दै आवाज उठाए। राजनीतिक हस्तक्षेपमा आइओएमका पदाधिकारी नियुक्ती नै सबै समस्याको मुल जड रहेको निस्कर्ष निकाल्दै डा केसीले त्यसको विरोध गर्न सुरु गरेका हुन्।
तर, उनको माग सुनुवाई नभएपछि उनले अनसनको बाटो रोजे। डा केसी पहिलो पटक २०६९ असार २१ गते अनसनमा बसे।
उनको एक सुत्रिय माग थियो, डिन तथा पदाधिकारी नियुक्तीका लागि मापदण्ड नबनेसम्म वरिष्ठताका आधारमा आइओएमको डिन नियुक्ति गरिनुपर्ने। सरकारले मापदण्ड बनाउन निकै ढिला गर्यो। मापदण्ड बने पनि हालसम्म कार्यान्वयनमा भने आउन सकेको छैन।
डा केसीको अनसनपछि आइओएममा वरिष्ठताका आधारमा डिन नियुक्त हुँदै आइरहेका छन्। वरिष्ठता मिचेर डिन बनेकाहरु पनि डा केसीको अनसनका कारण हट्नु पर्ने स्थिति आएको थियो।
डिन नियुक्तीका लागि वरिष्ठताका आधारमा मात्र नभई कार्यक्षमता लगायतका कुरा पनि हेरिनुपर्ने आवाज उठेपछि डा केसीले मापदण्ड बनाउन माग गरेका थिए।
डा केसीले डिन नियुक्तीमा निश्चित मापदण्ड बनाउन माग गरिरहे। सरकारले आलटाल गरिरह्यो।
पाँचौ अनसनका क्रममा सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रका महत्वपूर्ण पदाधिकारीहरु राजनीतिक भागवण्डाबाट नभई विशिष्टता र वस्तुनिष्ट आधारमा नियुक्त गर्ने राजनैतकि प्रतिबद्धता गर्ने तथा त्यसका लागि चार महिनाभित्र कानुनी व्यवस्था गर्ने सहमति गरेको थियो। तर, सरकारले उक्त काम पनि पुरा गरेन।
यो बिचमा डा केसीलाई आफ्नै साथीसँग लडाउने खेल पनि सरकारले गर्यो।
डिन नियुक्तीको मापदण्ड नबनाएर सरकारले डा केसीका साथी डा केशव प्रसाद (केपी) सिंहलाई वरिष्ठता मिचेर डिन नियुक्त गर्यो। डा केसीले मापदण्ड नबनेसम्म वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने माग सुरु देखि राख्दै आएका थिए।
आफ्नै साथी डिन बने पनि डा केसीले त्यसको विरोधमा अनसन सुरु गरे। डा केसीको अनसनपछि सरकारले बरिष्ठताका आधारमा डा जगदिश अग्रवाललाई डिनमा नियुक्त गर्यो। साथै तत्कालै मापदण्ड समेत बनाउने निर्णय गर्यो।
बन्यो मापदण्ड
आइओएममा डिन नियुक्तीको विषय पटक–पटक विवादित बन्दै गएपछि स्वास्थ्य मन्त्रालयको पहलमा मापदण्ड बनाउने निर्णय भएको थियो। सोही अनुसार ०७३ मंसिरमा मापदण्ड तयार भएको हो।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मापदण्ड बनाउन डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा सात सदस्य रहेको समिति गठन गरेको थियो। समितिले मंसिर १५ गते मापदण्ड तयार पारेर सरकारलाई बुझाएको थियो। सो मापदण्ड केदारभक्त माथेमाले सरकारलाई बुझाएको प्रतिवेदनलाई आधार मानेर बनाइएको थियो।
मापदण्डमा डिन नियुक्ति गर्दा बरिष्ठतालाई ६० प्रतिशत अंक निर्धारण गरेको छ। शिक्षक, प्राध्यापक र फ्याकल्टीमा काम गरेको अनुभवलाई पनि अंक पाउने मापदण्डमा उल्लेख छ। मापदण्ड अनुसार प्राध्यापकले हरेक वर्षको अनुभवमा दुई/दुई नम्बर पाउने छन्।
मापदण्डमा व्यवस्थापकीय कार्यका लागि पनि अंक राखिएको छ। यसमा १५ अंक राखिएको छ। यसमा शिक्षण अस्पतालको कुनै युनिट, विभागीय प्रमुख, कार्यकारी निर्देशक र सहायक डिन भएर काम गरेका अनुभवका आधारमा अंक प्राप्त गर्नेछन्।
शिक्षण अस्पतालको कार्यकारी निर्देशक वा आइओएमको सहायक डिन भएमा चार अंक पाउनेछन्। यसैगरी विभागीय प्रमुखले तीन र युनिट प्रमुखले दुई अंक पाउने छन्।
मापदण्डमा व्यवसायीक दक्षतालाई पनि अंक राखिएको छ। व्यवसायीक दक्षताका लागि ५ अंक छुट्याइएको छ।
साथै संस्था सुधार योजनाका लागि पनि १० अंक निर्धारण गरिएको छ।
डिन नियुक्त हुनका लागि उसको चरित्रलाई पनि मापन गरिएको छ। कुनै विवाद वा कारवाहीमा नपरेको व्यक्तिले अंक प्राप्त गर्ने छ। यसैगरी सामाजिक प्रतिष्ठाको आधारमा पनि अंक पाउने व्यवस्था गरिएको छ। यसमा ५ अंक राखिएको छ। कुल सय अंक मध्ये सबै भन्दा धेरै अंक प्राप्त गर्ने उमेदवार आइओएममा डिन बन्ने छ।
अब के हुन्छ प्रक्रिया?
आइओएममै कार्यरत एक प्राध्यापक भन्छन् विवादरहित रुपमा र सर्वमान्य हिसाबमा जाने हो भने डिन नियुक्तीका लागि सरकारसँग अब दुई विकल्प छन्।
पहिलो मापदण्ड अनुसार प्रक्रियामा गएर डिन नियुक्ती गर्ने।
दोस्रो, वरिष्ठताका आधारमा डिन नियुक्ती।
यी दुईमध्ये मापदण्ड अनुसार डिन नियुक्तीका लागि सरकारले छनौट कमिटी बनाउनु पर्ने हुन्छ। कमिटीले मापदण्ड अनुसार डिनमा नियुक्तीका लागि प्रतिस्पर्धीहरुबाट आवेदन माग गर्न सक्ने छ। त्यसपछि कमिटीले सबै कागजपत्र लगायतका कुराहरु हेरेर त्रिवि कार्यकारी परिषदमा तीन जनाको नाम सिफारिस गर्न सक्ने छ।
त्रिविका उपकुलपतिको अध्यक्षतामा रहेको कार्यकारी परिषदले सोही आधारमा डिनलाई नियुक्त गर्ने छन्।
मापदण्ड कार्नवयन नहुने हो भने सरकारले विगतमा जस्तै वरिष्ठताका आधारमा डिन नियुक्त गर्नु पर्ने हुन्छ।
मापदण्ड पनि कार्यान्वयन नहुने र वरिष्ठताका आधारमा पनि डिन नियुक्ती नहुने हो भने डा गोविन्द केसीले अनसन बस्नसक्ने सम्भावना देखिएको छ। डा केसीले यही कुरालाई स्मरण गराउन दार्चुलामा सांकेतिक रुपमा २ दिने अनसन बसेको उनी निकट एक चिकित्सक बताउँछन्।

वरिष्ठताका आधारमा को कति नम्बरमा?
आइओएमको प्राध्यापकहरुमा वरिष्ठताका सूची अनुसार डा अग्रवालसँगै डा अरुण सायमीले अवकाश पाएका छन्। वरिष्ठताको तेस्रो नम्बरमा रहेकी गीता सामयी भदौ २० गते अवकाश पाउँदै छिन्। चौथो नम्बरमा रहेका डा प्रताप नारायण प्रसाद छन्। पाँचौ नम्बरमा त्रिवि शिक्षण अस्पतालका निर्देशक डा प्रेमकृष्ण खड्गा छन्। उनी पनि अबको दुई साता पछि अर्थात असार ६ गते अवकाश हुँदै छन्।
वरिष्ठताका आधारमा छैटौं नम्बरमा छन्, डा योगेन्द्र प्रसाद सिंह।
सरकारले वरिष्ठताका आधारमा डिन नियुक्ती गर्ने हो भने उनी डिन हुनसक्ने सम्भावना अत्यधिक छ।
वरिष्ठताको सातौं नम्बरमा डा शशि शर्मा छन्। उनी पनि अबको ६ महिनापछि अवकाश पाउने सूचीमा छन्।
यस्तै वरिष्ठताको आठौं नम्बरमा डा सुनिल चन्द्र झा, नवौं नम्बरमा डा प्रदिप कृष्ण श्रेष्ठ, दशौं नम्बरमा डा मीता सिंह, ११औं नम्बरमा डा सुशिलकृष्ण सिल्पकार, १२औं नम्बरमा डा प्रदिप वैद्य, १३औं नम्बरमा डा तुलसी कंडेल, १४औं नम्बरमा डा दीपक प्रकाश महरा, १५औं नम्बरमा डा विनयलाल श्रेष्ठ, १६औं नम्बरमा डा विद्यादेव शर्मा, १७औं नम्बरमा डा बालमुकुन्द रेग्मी, १८औं नम्बरमा डा दिनेश विनोद पोखरेल, १९औं नम्बरमा डा द्वारिका प्रसाद श्रेष्ठ र २० औं नम्बरमा डा हरि भट्टराई छन्।
चर्चामा को को ?
आइओएमको डिनका लागि सबैभन्दा बढी चर्चामा छिन् डा दिव्या सिंह शाह। आइओएममै कार्यरत प्राध्यापक तथा अन्य चिकित्सकहरुले डा शाहलाई डिन नियुक्त गर्नुपर्ने माग गर्दै आइरहेका छन्। विशेषगरी महिला प्राध्यापकहरुको जोड आइओएममा यसपटक महिला डिन नियुक्त हुनुपर्नेमा छ। आइओएममा महिला तर्फ वरिष्ठताका आधारमा डा शाह तेस्रो नम्बरमा छिन्। महिला तर्फ वरिष्ठताका आधारमा सबैभन्दा अगाडि डा विभु प्रधान छिन् त्यसपछि दोस्रो नम्बरमा डा बेनु लोहनी छिन्। चौथो नम्बरमा डा केसाङ डिकी छिन् भने पाँचो नम्बरमा डा पलेश्वाँ जोशी लाखे छिन्। छैटौं नम्बरमा डा नरमाया थापा र सातौं नम्बरमा डा सुधा विष्ट छिन्।
तर मिहलातर्फ सबैभन्दा बलियो उम्मेद्वार डा शाह रहेको बताइन्छ। डा शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक पनि हुन्। उनकै अगुवाईमा नेपालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो। आइओएमको वरिष्ठताको सूचीमा उनी ३५ औं नम्बरमा छिन्।
डिनका लागि चर्चामा रहेका अर्का व्यक्ति हुन डा योगेन्द्र प्रसाद सिंह। वरिष्ठताका आधारमा अगाडि रहनुका साथै विवादरहित व्यक्ती भएकाले पनि उनको नाम चर्चामा आएको छ।
यस्तै डिनका लागि चर्चामा डा ईश्वर लोहनी, डा दीपकप्रकाश महरा, डा रोहितकुमार पोखरेल, डा रतिन्द्र श्रेष्ठ, डा दिनेश काफ्ले, डा प्रदिप वैद्य, डा सुशीलकृष्ण सिल्पकार, डा उत्तम कृष्ण श्रेष्ठ, डा बालमुकुन्द रेग्मी, डा राजेन्द्र गुरागाईं लगायत छन्।
नेकपा निकट डाक्टरहरुले डिनमा डा दिनेश काफ्लेलाई नियुक्ती गर्नुपर्ने भन्दै लबिइङ गरिरहेको बुझिएको छ। उनी प्राध्यापकको वरिष्ठताको सूचीमा ४५ औं नम्बरमा छन्।