काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण समुदायमा नफैलिएको स्पष्ट पारेको छ।
स्वास्थ्य प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयको नियमित कोभिड-१९ मिडिया बिफ्रिङमा शनिबारस संक्रमण समुदायमा नफैलिएको बताएका हुन्।
स्वास्थ्य प्रवक्ता देवकोटाले भने,‘संक्रमण समुदायमा फैलिसकेको छ कि भन्ने आंशका धेरैले गर्नुभएको छ। समुदायमा अझै संक्रमण फैलिसकेको छैन। हामीले समुदायमा संक्रमण फैलनबाट जोगाउनुपर्नेछ। त्यो कुरा हाम्रै हातमा छ।’
उनले सुमदायमा संक्रमण फैलनबाट जोगाउनका लागि क्वारेन्टाइनमा व्यवस्थित रुपमा रहनुपर्नेमा जोड दिए। उनले भारतबाट दैनिक औसत रुपमा २ हजार मानिसहरु आइरहेको अवस्थामा घरमा जानेहरु कडा रुपमा क्वारेन्टाइनमा बस्न आग्रह गरे। त्यसको उचित व्यवस्थापन गर्न स्थानीय तह र सुरक्षा निकायलाई समेत आग्रह गरे।
‘सम्भावित लक्षण भएका व्यक्तिहरु समुदायमा हुनुहुन्छ भने छिटोेछरिछो माध्यमबाट अस्पतालमा पुर्याइनुपर्ने हुन्छ। किनभने आजकै २ वटा मृत्यु केस पहिले नै स्वास्थ्य समस्या भएका व्यक्तिहरु हुनुहुन्छ। उहाँबाट समुदायमा संक्रमण फैलियो भने थप समस्या हुन्छ।
उनले स्थानीय तहलाई कन्ट्याक्ट ट्रेसिङको कार्यलाई पूर्ण रुपमा सहयोग गर्न आग्रह गर्दै हरेक पालिकामा कन्ट्याक्ट ट्रेसिङका टोली बनाइ सहजीकरण गर्न समेत उनले आग्रह गरे।
दिनप्रति दिन संक्रमितको संख्या बढेपछि केही जनस्वास्थ्य विज्ञहरुले समेत संक्रमण समुदायमा फैलिसकेको दावि गर्दै आएका छन्।
पछिल्लो समयमा क्वारेन्टाइनमा बसेका व्यक्तिमा संक्रमण देखिरहेको छ। भने कुल संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढी क्वारेन्टाइनकै व्यक्तिमा संक्रमण देखिएको छ।
क्वारेन्टाइन व्यवस्थित नभएको र क्वारेन्टाइनमा बसेका व्यक्तिको पिसिआर नगरि घर पठाउने क्रम बढेपछि संक्रमण थप बढ्ने आंशका समेत गर्न थालिएको छ।
शनिबार देशभर ३२३ नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमितका संख्या ३ हजार २३५ पुगेको छ। जसमध्ये ३६५ जना निको भइसकेका छन्।
हालसम्म प्रदेश १मा ७९, प्रदेश २मा १३३, बागमती प्रदेशमा ३२ र गण्डकी प्रदेशमा ४ जनाले कोरोना संक्रमण जितेका छन्। त्यसैगरी, प्रदेश ५ मा ९६ र कर्णाली प्रदेशमा ९ मा सुदुरपश्चिम प्रदेशमा १३ जनाले कोरोना संक्रमण जितेका छन्।
हालसम्म २९१ पुरुष र ६६महिला गरी ३६५ जना कोरोना संक्रमणबाट निको भएका छन्।