काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ। आइतबार साँझसम्मको तथ्यांक अनुसार प्रदेश २ मा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा १ हजार १ सय ६१ संक्रमित भेटिएको हो।
प्रदेश २ मा हाल ९ सय ७४ जना अस्पतालको आइसोलेसनमा छन् भने १ सय ८६ जना उपचारपछि डिस्जार्च भएका छन्। प्रदेश २ मा मृतकको संख्या एक छ। २२ हजार २ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश २ पछि सबैभन्दा धेरै संक्रमित भेटिएको प्रदेशको सूचीमा प्रदेश ५ छ। त्यहाँ १ हजार ८१ संक्रमित छन् भने ९ सय ४४ जना आइसोलेसनमा छन्। उपचारपछि १ सय ३३ जना डिस्चार्ज भएका छन्। चार जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार कोरोना कारण सबैभन्दा धेरै मृत्यु भएको प्रदेश ५ मा हो। हाल त्यहाँ ३९ हजार ८ सय ९७ जना क्वारेन्टाइनमा छन्।
मन्त्रालयको तेस्रो सूचीमा कर्णाली प्रदेश छ। त्यहाँ ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ सय २१ जना आइसोलेसनमा र ९ जना डिस्जार्च भएका छन्। तीन जनाको मृत्यु भएको छ। ३२ हजार ८२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २ सय ५९ जना संक्रमित छन्। जसमध्ये ९१ जना उपचारपछि डिस्चार्ज भएका छन्। १ सय ६८ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोना कारण हालसम्म प्रदेश १ मा कसैको मृत्यु भएको छैन। हाल त्यहाँ ४ हजार ३ सय ८८ जना क्वारेन्टाइनमा छन्।
गण्डकी र सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या समान छ। त्यहाँ हालसम्म समान १ सय ११ जना संक्रमित भेटिएका छन्। तर गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण देखिएका कसैको मृत्यु भएको छैन। यद्यपि सुदूरपश्चिममा भने २ जनाको मृत्यु भइसकेको छ।
गण्डकीमा हाल १ सय ८ जना आइसोलेसनमा छन् भने डिस्जार्च हुनेको संख्या तीन छ। ५ हजार ३ सय ६३ जना क्वारेन्टाइनमा छन्। सुदूरपश्चिम प्रदेशमा ९६ जना आइसोलेसनमा, १३ डिस्जार्च र ६३ हजार ५ सय ७५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनमा रहेको संख्या सुदूरपश्चिममा धेरै छ।
सबैभन्दा कम संक्रमित ९२ जना बागमती प्रदेशमा भेटिएको छ। जसमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ भने ३२ जना उपचारपछि डिस्जार्च भएका छन्। ५७ जना संक्रमित आइसोलेसनमा उपचाररत छन्। क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या पनि बागमतीमा सबैभन्दा कम ३ हजार १ सय ९५ रहेको मन्त्रालयको तथ्यांक छ।
