काठमाडौं— राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सरकारले जारी गरेको ‘नेशनल टेष्टिङ गाइडलाइन कोभिड१९’ विपरीत पठाइएका नमूना परीक्षण नगर्ने सूचना जारी गरेको छ।
देशभरका पिसिआर टेष्टिङ ल्याबहरुलाई निर्देशिका अनुसार मात्र नमूना परीक्षण गर्न सूचित गरिएको छ।
प्रयोगशालाकी निर्देशक डा रुणा झाले परीक्षणका लागि नमूना पठाउँदा निर्देशिका पालना गरी निर्देशिकाको कुन व्यवस्था अनुसार नमूना पठाइएको हो सो समेत स्पष्ट पार्न निर्देशन दिएकी छिन्।
उनले निर्देशिकाको व्यवस्थाभन्दा बाहिर रही संकलन गरिएका नमूनाहरु प्रयोगशालाहरुले परीक्षण नगर्ने समेत निर्देशन दिएकी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते जारी गरेको ‘नेशनल टेष्टिङ गाइडलाइन कोभिड१९’ मा क्वारेन्टाइनमा बसेका कुनै पनि लक्षण नभएका व्यक्ति, कोरोना संक्रमित भई आइसोलेनमा १४ दिन बसेका व्यक्तिको पिसिआर परीक्षण नगर्ने उल्लेख गरेको छ। मन्त्रालयले लक्षण देखिएकाको हकमा पनि लक्षण निको भएका संक्रमितलाई ३ दिन पछि पिसिआर परीक्षण नगर्ने नीति लिएको छ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। आइतबार ४ बजेसम्म ३ हजार ४४८ संक्रमित देखिएका छन्। ४६७ जना संक्रमित निको भइ घर फर्किएका छन्। १४ जना मृत्यु भएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कूल संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढी संक्रमित क्वारेन्टाइनमा देखिएका व्यक्तिहरु हुन्।
मन्त्रालयका अनुसार आइतबारसम्म देशभर एक लाख ७० हजार ७३२ व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन्। भने २ हजार ९६८ कोरोनाका शंकास्पद व्यक्तिहरु आइसोलेनमा रहेका छन्।
तर, सरकार आफैले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई परीक्षण नगरी घर पठाउने नीति लिइएको छ। पछिल्लो समयमा क्वारेन्टाइनमा बसेका व्यक्तिको आरडिटि परीक्षण गरी नेगेटिभ आएपछि घर पठाइएका व्यक्तिको पिसिआर पोजिटिभ आएको छ। भने संक्रमितको मृत्यु समेत भएको छ।
