काठमाडौं– पोखरामा उपचारका क्रममा मृत्यु भएका स्याङ्जा वालिङ नगरपालिका–३ का कोरोना संक्रममित पुरुषलाई अन्य रोग समेत भएको पाइएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा गतराति मृत्यु भएका ५८ वर्षिय पुरुषमा पाँच प्रकारका रोग देखिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानको अस्पताल निर्देशक प्राध्यापक डाक्टर अर्जुन आचार्यले मृतक पुरुषमा क्रोनिक किड्नी डिजिज, हाइपर टेन्सन, डाइबेटिज, सेप्टिसिमीया, एनेमिया लगायतका समस्याहरु समेत रहेको जनाएका छन्।
मिर्गौला उपचारका लागि उनी छ महिना अघि भारत गएका थिए। उपचारकै क्रममा भारतमा लकडाउन सुरु भएपछि उनी सुनौली नाकामा अलपत्र परेका थिए। वालिङ नगरपालिकाको पहलमा उनलाई जेठ २१ गते राति अबेर वालिङ ल्याइएको थियो। वालिङका मेयर दिलीपप्रताप खाँणले भने, ‘मिर्गौलाका बिरामी उहाँको स्वास्थ्य अवस्था कमजोर भइसेकको थियो। नगरपालिकाले सुनौली पुगेर उद्धार गरी ल्याएको हो।’
उपचारका लागि भारत गएका उनको मिर्गौला प्रत्यारोपण समेत सम्भव नहुने भएपछि अस्पतालले नेपाल फर्कन सुझाब दिएको थियो।
स्वास्थ्य अवस्था नाजुक भइसकेका उनलाई वालिङबाट पोखरा पठाइएको थियो। संक्रमण देखिएका उनलाई आइतबार मात्रै आइसोलेसनमा राखिएको थियो। उनको आइतबार राति ११:२५ मा मृत्यु भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले जनाएको छ।