काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न बनाइएको मापदण्ड कडाइका साथ लागू गरिने बताउनु भएको छ।
मुलुकमा सञ्चालित अधिकांश क्वारेन्टाइन व्यवस्थित नभएको स्वीकार्दै प्रधानमन्त्री ओलीले मापदण्ड कडाइका साथ लागू गरिने बताएका हुन्। बिनियोजित बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिदै ओलीले आवश्यकता र सामथ्यता बीचको तालमेल नमिल्दा क्वारेन्टाइन व्यवस्थित हुन नसकेको बताए।
उनले भने, ‘क्वारेन्टाइनको सेवालाई गुणस्तरीय बनाउन मापदण्ड बनाइएको छ। तर आवश्यकता र सामथ्र्य बीचको ग्यापका कारण समस्या आएको हो। क्वारेन्टाइनलाई व्यवस्थित बनाउन मापदण्ड कडाइका साथ लागू गरिन्छ।’
क्वारेन्टाइन मापदण्ड अनुसार भए÷नभएको अनुगमन गर्न संघ र प्रदेशबाट टोली खटाइएको उनले जानकारी दिए। परीक्षणको दायरा बढाउन र नतिजा तत्काल आउने खालका आधुनिक उपकरण ल्याउने तयारी भएको उनले बताए। हाल परीक्षण क्षमता कम भएको तर संख्या ठुलो भएकाले धेरैको परीक्षण गर्न नसकिएको उनले बताएका छन्। उनका अनुसार हाल दैनिक ४५ सय देखि ५ हजार सम्म पिसिआर गर्ने सरकारको क्षमता छ।
‘थप पिसिआर मेसिन र किट ल्याउने तयारी छ। पर्खन नपर्ने गरी तत्काल परीक्षण गर्न सकिने खालका आधुनिक उपकरण ल्याउने तयारी गर्दैछौं’ उनले भने, ‘हाल हाम्रो क्षमता कम छ। तर परीक्षण गर्ने संख्या ठुलो हुँदा धेरैको परीक्षण गर्न सकेको छैनौं।’
वैशाखको पहिलो साताबाट भारत प्रवेश गर्ने संख्या बढ्न थालेको छ। वैशाख महिनामा ७ हजार ४ सय ७८ र जेठमा २ लाख २२ हजार ६ सय ५४ जना नेपाल प्रवेश गरेको ओलीले संसदमा जानकारी गराएका छन्। जेठ १८ गतेदेखि दैनिक ७ देखि १० हजार व्यक्ति नेपाल प्रवेश गरिरहेको उनले बताए।
भारतबाट नेपालमा प्रवेश गर्नेको संख्या दैनिक बढ्दै गएकाले परीक्षण अव्यवस्थित भएको ओलीले बताए। मुलुकभर हाल ३ हजार ७ सय ७६ स्थानमा गरी २ लाख ३५ हजार ५ सय ९६ शय्याको क्वारेन्टाइनको व्यवस्था गरिएको उनले जानकारी गराए।
सार्वजनिक र नीजि अस्पतालमा गरी हाल २६ हजार ९ सय ३० सामान्य शय्या र १ सय ९४ अस्पतालमा गरी १ हजार ७ सय २ आईसीयु शय्या रहेको प्रधानमन्त्री ओलीले संसदमा जानकारी गराएका छन्। भारतबाट फर्किएका ८५ प्रतिशत बढी व्यक्तिमा कोरोना संक्रमित देखिएको उनले बताए।