काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा सवा ४ बजे कोरोना ब्रिफिङ गर्दै आएको छ। जसमा मन्त्रालयले कोरोना संक्रमितको आधिकारिक तथ्यांक र जानकारी प्रस्तुत गर्छ।
सञ्चारमाध्यम देखि सर्वसाधारणको सूचनाको आधिकारिक स्रोत मन्त्रालयले गर्ने नियमित कोरोना ब्रिफि? नै हो।
तर बिहीबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रस्तुत गरेका तथ्यांक भने बाझिएका छन्। मिडिया ब्रिफिङका क्रममा डा गौतमले कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ भनेर जानकारी दिए। प्रयोगशाला परीक्षणको जानकारी दिइसकेपछि उनले संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको जानकारी दिएका हुन्।
तर, उनले प्रदेशगत तथ्यांकको विवरण दिने क्रममा भने संक्रमितको संख्या ४ हजार ६ सय २२ रहेको जानकारी दिए।
डा गौतमले प्रस्तुत गरेको प्रदेशगत विवरण जोड्ने हो भने कुल संक्रमितको संख्या ४ हजार ६ सय २२ नै हुन आउँछ।
तर, प्रवक्ता डा गौतमले बिहीबार नेपालमा २ सय ५० जना संक्रमित थपिएको जानकारी दिए। बुधबार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ थियो।
यो आधारमा हेर्दा बुधबारसम्मको कुल संख्या ४ हजार ३ सय ६४ मा २ सय ५० जना थपिँदा जम्मा संख्या ४ हजार ६ सय १४ पुग्छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३ सय ७, प्रदेश २ मा १ हजार ६ सय ७१, बागमति र गण्डकीमा समान १ सय ४७, प्रदेश ५ मा १ हजार ३ सय ९९, कर्णालीमा ७ सय ५९ र सुदूरपश्चिममा १ सय ९२ जना संक्रमित भेटिएका छन् । प्रदेशगत संक्रमितको संख्या जोड्ने हो भने ४ हजार ६ सय २२ हुन्छ ।
अब प्रश्न आउँछ, कुल संक्रमितको संख्या कति ? ४ हजार ६ सय १४ या ४ हजार ६ सय २२ ? मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ४ हजार २ सय ८५ पुरुष र ३ सय २९ महिला छन् ।
सही सूचनाका लागि भन्दै साढे पाँच लाख बढी मानिसले मन्त्रालयको आधिकारिक फेसबुक पेजलाई फलो गर्छन्। तर मन्त्रालयबाट आउने दोहोरो तथ्यांकले भने अन्योल सिर्जना गरेको छ।
स्वास्थ्य मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘यो विषयमा मन्त्रालयले आधिकारिक धारणा साँझसम्म जारी गर्ने छ। तथ्यांक अद्यावधिक विवरण सार्वजनिक गर्ने क्रममा कुल संक्रमितको संख्या आउने छ। उक्त समयसम्म धैर्य गर्नुहोला।’
हेरौं भिडियो :