काठमाडौं- कान्ति बाल अस्पतालले अनलाइन टिकट लिने व्यवस्था सुरु गरेको छ। यो अनलाइन टिकट सेवा सुरु भएपछि अब ओपिडी सेवा लिन आउने सेवाग्राहीले अनलाइनबाटै टिकट लिन सक्ने छन्।
कान्ति चिल्ड्रेन हस्पिटल नामकको एप्स मोबाइलमा डाउनलोड गरेर टिकट लिन सक्ने अस्पतालले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार उक्त एप्सको शुभारम्भ गरेका छन्।
उनले अनलाइन टिकेटिङ सुरु भएसँगै लामो समय लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै अस्पताललाई बधाई दिँदै सेवाग्राहीले पाउने सेवा प्रभावकारी र थप चुस्त बनाउने अभियानमा अस्पताललाई थप सफलताका शुभकामना दिए।
अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले हाल सो एप्स एन्ड्रोइड मोबाइलहरुमा उपलब्ध भएको र एप्पलमा उपलब्ध हुन केही समय लाग्ने जानकारी दिए।
उनले भने,‘अस्पतालमा लामो समय पर्खेर टिकट लिनुपर्ने अवस्थामा केही सहजता हुने विश्वास लिएका छौँ। अहिले अस्पतालको वेवसाइटको काम भइरहेको छ। वेबसाइट सञ्चालनमा आएपछि ल्याव रिर्पोटहरु समेत अनलाइनमा उपलब्ध गराउने गरी तयारी गरिरहेका छौँ।’