काठमाडौं- कोरोना बिमा गर्ने मध्ये चार जना संक्रमितले दाबी गरेका छन्। दाबी गर्ने मध्ये दुई जनाले दाबी भुक्तानी पाएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। नेको इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरिसकेका छन्।
कोरोना बिमा मार्फत १ लाख रुपैयाँ रकम पाउनेमा भरतपुर अस्पतालका एक चिकित्सक र अर्का एक जना भने संक्रमित महिला छिन्। उनीहरु दुबैजनामा कोरोना पोजेटिभ देखिएको छ।
राष्ट्रिय बिमा कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीमा पनि कोरोना बिमा गर्ने संक्रमितले दाबी गरेका छन्। दुबै संक्रमितिले एक लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन्। बिमा समितिले जारी गरेको कोरोना बिमा पोलिसी खरिद कर्ताले कोरोना संक्रमण पुष्टि हुने वित्तीकै दाबी भुक्तानी पाउने व्यवस्था छ।
नेको इन्स्योरेन्सले कृषि विकास बैंकमा काम गर्ने गुल्मी घर भएकी एक महिलालाई दाबी भुक्तानी गरेको छ। त्यस्तै हिमालयनले भरतपुर अस्पतालमा काम गर्ने डाक्टरलाई दाबी गरेको हो।
बिमा कम्पनीले चार लाख भन्दा धेरैको कोरोना बिमा गरिसकेका छन्। कम्पनीहरुले कोरोना बिमाबाट २३ करोड रुपैयाँ भन्दा धेरै बिमा शुल्क आर्जन गरेका छन्।
महामारी फैलिदै गयो भने पहिलो चरणमा बिमका कम्पनीहरुको पुल मार्फत एक अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी गर्न सक्ने छन्। एक अर्ब भन्दा माथिको दाबी पर्यो भने पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँको दाबी भुक्तानी गर्नेछ। तेस्रो चरणमा बिमा कम्पनीहरुको सामुहिक कोषबाट ५० करोड रुपैयाँ भुक्तानी गर्ने व्यवस्था गरिएको छ।
यो भन्दा माथिको दाबी भुक्तानी हुने अवस्था आएमा नेपाल सरकारसँग सहयोगको आह्वान गर्ने कार्यकारी निर्देशक पौडेलले बताए। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सम्पुर्ण नेपालीको कोरोना बिमा गर्दा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ। त्यस्तै राष्ट्र सेवक कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बिमा गर्ने व्यवस्था गरिएको छ।