काठमाडौं- कर्णाली प्रदेश सरकारले कोभिड नियन्त्रण र उपचारका लागि ८७ करोड ४१ लाख बढी बजेट छुट्याएको छ।
आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट विनियोजन गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ८७ करोड ४१ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका हुन्।
कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
कर्णाली प्रदेशले राहत क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनका लागि स्थानीय तहरुलाई १८ करोड २० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
कोभिड१९ रोकथाम नियन्त्रण र उपचारका लागि स्थापित व्यवस्थापन कोषमा प्रदेश सरकारको तर्फबाट ५० करोड र विभिन्न संस्थाहरुबाट २ करोड २४ लाख ३५ हजार ५ सय ६९ रुपैयाँ जम्मा गरेको मन्त्री ज्वालाले जानकारी दिए। यसका लागि हालसम्म कर्णाली प्रदेशले २५ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ।
अर्थमन्त्री ज्वालाले कोभिड १९ बाट सिर्जित महामारी र सम्भावित भोकमरीबाट जनतालाई जोगाउँदै समृत नेपाल, सुखी नेपाीलको राष्ट्रिय आकांक्षा अनुरुप समृद्ध कर्णाली सुखारी कर्णालीवासीको प्रदेशको दीर्घकालीन सोच साकार पार्न बजेट तयार पारिएको बताए। कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।
कोभिड १९ को रोकथामको क्रममा खटिएका स्वास्थ्यकर्मीहरूलाई सुरु तलबको बराबर र सुरक्षाकर्मी र सवारी चालकहरूको सुरु तलबको ५० प्रतिशत मासिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ।
बजेटले समेटेका क्षेत्रहरु:
– तत्कालीन रूपमा कोभिड १९ नियन्त्रण र दीर्घकालीन रूपमा स्वास्थ्य क्षेत्रको सुदृढीकरण गरी गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताको लागि कर्णाली प्रदेशले दुई अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको छ।
– प्रदेश सरकारले पनि कोभिड १९ ले मृत्यु भएकालाई एक लाख रूपैयाँ दिने भएको छ। प्रदेश अस्पतालमा २०० आइसोलेसन वेड, ४० सघन उपाचार कक्ष र २० भेन्टिलेटर सहितका विशेष सघन उपचार कक्ष बनाउने भएको छ।
– स्थानीय स्तरमा कोभिड १९ सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा स्वास्थ्य स्यंसेविकालाई परिचालन गर्न उनिहरूलाई प्रोत्साहन गर्न ४ करोड रूपैयाँ विनियोजन गरेका छन्।
– कोभिड १९ को रोकथामको क्रममा खटिएका स्वास्थ्यकर्मीहरूलाई शुरु तलबको बराबर र सुरक्षाकर्मी र सवारी चालकहरूको सुरु तलबको ५० प्रतिशत मासिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ।
– कोभिड १९ केन्द्रित स्वास्थ्य खाद्यान्न र शिक्षाका उल्लिखित कार्यक्रम कार्यान्वयनका लागि एक अर्ब ५० करोड ५८ लाखको कोष परिचालन गर्ने भएको छ।
– सुर्खेत स्थित प्रदेश अस्पताललाई ३०० शैयाको शिक्षण अस्पतालको रूपमा विकास गर्न आवस्यक भौतिक पुर्वाधार र स्वास्थ्य उपकरणका लागि १३ करोड ४५ लाख रूपैयाँ विनियोजन गरिएको छ।
– डोल्पा जिल्ला अस्पतालको भवन निर्माणका लागि १० करोड सहित जिल्ला अस्पतालको पुर्वाधार विकासका लागि २२ करोड रूपैयाँ विनियोजन गरिएको छ।
– कर्णालीमा ट्रमा अस्पताल निर्माणको लागि एक करोड ४० लाख रूपैयाँ विनियोजन गरिएको छ।
– जडिबुटीको प्रवर्द्धन तथा विकास कार्यक्रमका लागि ६ करोड रूपैयाँ विनियोजन गरिएको छ।
– जडिबुटीको नर्जसरीको लागि दुई करोड १० लाख रूपैयाँ विनियोजन गरिएको छ।