काठमाडौं– गण्डकी प्रदेशले ६० करोड ४० लाख कोरोना रोकथाम तथा नियन्त्रणका कोषका लागि छुट्याएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्दै पिसिआर परीक्षण तथा औषधी उपकरण खरिद तथा कोष स्थापनाका लागि सो रकम छुट्याएको बताएका हुन्।
सो रकममार्फत कोरोना को उपचार तथा नियन्त्रणलाई प्रभावकारी बनाइने योजनामन्त्री गुरुङले बताए। गुणस्तरीय क्वारेन्टाइनको निर्माण र संचालन, संक्रमितको उपचारका लागि विशेष अस्पताल र आइसोलेसन कक्षको स्थापना र सञ्चालन, सबै जिल्ला अस्पतालहरूमा शैय्या थप गरी सघन उपचार कक्ष स्थापना, पिसिआर परीक्षण, औषधि उपकरण खरिदका लागि सो कोषको रकम प्रयोग गरिने उनको भनाइ छ।
त्यस्तै महामारीले पारेको असरका आधारमा क्षेत्रगत पुनरोत्थानका लागि व्यवसाय जीवन रक्षा कोष स्थापना गर्न प्रदेशले १ अर्ब छुट्याएको छ। प्रदेशले सो कोषबाट कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसायलाई जोगाउन, टिकाउन र सुचारू गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छ।