काठमाडौं- सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब २६ करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ। सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्षलाई स्वास्थ्य सेवा सुधार दशकका रुपमा मनाउने पनि घोषणा गरेको छ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले सोमबार प्रदेश सभा बैठकमा प्रस्तुत गरेका हुन्। आगामी आर्थिक वर्षको बजेटमा उक्त प्रदेशले स्थास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने र कोभिड १९ महामारी रोकथामको विषयलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको मन्त्री बोहराले बताए।
स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा पुग्न नसकेका क्षेत्रमा स्थास्थ्य सेवा विस्तार र टीकापुर, अछाम, बझाङ, दार्चुला, बैतडीका अस्पतालमा आइसोलेसनसहितको स्वास्थ्य भौतिक संरचना निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ।