काठमाडौं- कोरोनाको आशंकामा गत २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म ३ लाख ८३ हजार ३ सय १५ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ४९ हजार ७ सय ७२ जनाको पिसिआर र २ लाख ३३ हजार ५ सय ४३ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
बुधबार ५ सय ८६ थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ जना पुगेको छ। जसमध्ये ५ सय ३९ जना महिला र ६ हजार ६ सय ३८ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म १ हजार १ सय ६७ जना उपचारपछि डिस्चार्ज भएका छन्। ९ जना गत २४ घण्टामा डिस्जार्च भएको प्रवक्ता गौतमले बताए। बाँकेमा थप एक महिला कोरोना संक्रमणका कारण मृत्यु भएसँगै मृतकको संख्या २० पुगेको छ।
देशभर हाल ५ हजार ९ सय ९० जना अस्पतालको आइसोलेसनमा र १ लाख २५ हजार ७ सय ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।