काठमाडौं— स्वास्थ्य तथा जनसंख्याले भदौसम्म कोरोना संक्रमितको संख्या ३९ हजार पुग्न सक्ने प्रक्षेपण गरेको छ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या बढीरहेको र भदौसम्ममा संक्रमितको संख्या ३९ हजार पुग्ने प्रक्षेपण गरी तयारी थालिएको जनाएको छ।
संक्रमितको प्रक्षेपणका आधारमा तयारी थालिएको जनाउँदै हालसम्म एक/एक हजार भेन्टिलेटर र आइसियुको व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। सो समयमा देखिएका संक्रमितमध्ये ५ प्रतिशतलाई क्रिटिकल केयरको उपचार चाहिन सक्ने मन्त्रालयको अनुमान छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै परीक्षण दायरा बढाउन असार १५ गतेबाट दैनिक १० हजार परीक्षण गरिने बताए।
'पहिला १५ हजारको प्रक्षेपण गरिएको थियो। अब एकदमै खराब अवस्था आएमा संक्रमितको संख्या ३९ हजार पुग्न सक्ने अनुमान गरी प्रयोगशाला, कोरोना विशेष अस्पतालको बिस्तार गरिरहेका छौं,' मन्त्री ढकालले भने, 'हाल देशभरका २२ प्रयोगशालामा कोरोना भाइरसको परीक्षण हुँदै आएको छ।'
उनले निजी क्षेत्रका प्रयोगशालासँग सहकार्य गर्ने र सरकारले संकलन गरेको स्वाबको नमूना परीक्षण गर्न दिने तयारी भएको जानकारी दिए।
'त्यसबापत निजी ल्याबलाई सरकारले प्रतिकेस लाग्ने शुल्क उपलब्ध गराउने छ। प्रतिदिन निजी प्रयोगशालाले ३ हजार र हरेक प्रदेशले एक हजारका दरले परीक्षण गर्ने योजना रहेको छ,' मन्त्री ढकालले भने।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा बासुदेव पाण्डेका अनुसार हालसम्म देखिएका संक्रमितमध्ये ९८ प्रतिशत संक्रमित लक्षण नभएका छन्। त्यसमा पनि १५ देखि ४५ प्रतिशत व्यक्ति देशबाहिरबाट आएका व्यक्तिहरु हुन्। ९४ प्रतिशत संक्रमित आयातित हुन्। उनले हालसम्म संक्रमण समुदायमा नगएको स्पष्ट पारे।
शुक्रबार ४ बजेसम्म कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। जसमध्ये एक हजार ५७८ निको भएका छन्। २२ संक्रमितको मृत्यु भएको छ।
सचिवालयमा हेरफेर हुनसक्ने
स्वास्थ्यमन्त्री ढकालले मन्त्रालयको सचिवालयका व्यक्तिहरुको गुनासोबारे ध्यानाकर्षण भएको बताए। उनले सचिवालयका व्यक्तिको कार्यशैलीमा सुधार नभए परिवर्तन गर्न सकिने बताए।
सचिवालयका व्यक्तिहरुको भूमिकाबारे बारम्बार प्रश्न उठेपछि मन्त्री ढकालले मान्छेको व्यवहार बिझाउने खालको हुन नहुने बताउँदै भने,‘सार्वजनिक पदमा बसेर सहयोग गर्ने ठाउँमा बसेर जिम्मेवारी पुरा नगर्ने भएपछि मेरो निजी सचिव वा स्वकीय सचिवालयका व्यक्ति जो भएपनि छुट हुने कुरा भएन। त्यसमा मेरो ध्यानाकर्षण भएको छ।’
कोरोना भाइरस संक्रमित पत्ता लगाउने थप पाँच ल्याबको समेत बिस्तार गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालले काठमाडौंभित्र नेपाली सेनाको छाउनी अस्पताल, नेपाल प्रहरीको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल राजधानी बाहिर दैलेख र डडेल्धुरामा पिसिआर परीक्षण गर्नका लागि प्रयोगशाला थप गर्ने तयारी भइरहेको बताए।
उनले शुक्रबार मन्त्री परिषद्ले कन्ट्याक्ट टे«सिङ गाइडलाइन स्वीकृत गरेको जानकारी दिँदै कन्ट्याक्ट ट्रेसिङका लागि कूल तीन हजार २२५ जनाको जनशक्ति टोली तयार पार्न लागिएको बताए।
‘हाल कायम रहेको दुई तिहाइ स्वास्थ्य जनशक्ति र बाँकी जनशक्तिमा नयाँ भर्ना गरि कन्ट्याक्ट टे«सिङको काम बढाएर लैजाने छौँ।’
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले कोरोना रोकथामको लागि करिब डेढ महिनाका लागि स्वास्थ्य सामग्री मौज्जाद रहेको दिए।