डडेल्धुरा- डडेल्धुराको भित्री मधेश परशुरामस्थित आइसोलेसनबाट भागेका ८ कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
परशुराम नगरपालिका-१२ मा रहेको शिद्धनाथ आधारभूत विद्यालयको आइसोलेसनमा रहेका ८ संक्रमित शनिबार भागेका हुन्।
वडा नं ५ मा रहेको क्वारेन्टाइनमा रहेका उनीहरूमा शुक्रबार कोरोना पोजिटिभ देखिएको थियो। कोरोना पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा राख्ने भनेर शिद्धनाथ आधारभूत विद्यालयमा ल्याइएको थियो। खान बस्नको उचित व्यवस्थापन नभएको भन्दै उनीहरू त्यहाँबाट भागेको बताइएको छ।
भागेका संक्रमितलाई नियन्त्रणमा लिइसकेको र उनीहरूलाई आइसोलेसनमा राखिएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
शुक्रबार राति र शनिबार दिनभरी भोकै राखेको र अन्य कोरोना पोजिटिभ गाउँमा नै बसेकोले आफूहरू भागेको एक संक्रमितले बताए।
खानाको समस्या भएर उनीहरू भागेको बुझिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।
‘आइसोलेसनमा खाना/बस्नको व्यवस्था राम्रो भएनछ। त्यहीँ भएर व्यवस्थापन राम्रो बनाउन दबाब दिनका लागि उनीहरू भागेका रहेछन्’ प्रजिअ पन्तले भने, 'अहिले उनीहरूलाई प्रहरीले आइसोलेसनमा राखेको छ।'
डडेल्धुरा जिल्लामा दिनहुँ कोरोना बिरामी थपिरहेका छन्। यहाँ शनिबारमात्रै ३९ जना कोरोना संक्रमित थपिएका छन्।