डा अविनाशकुमार झा
सूर्य ग्रहण लागेका बेला नाङ्गो आँखाले अथवा विना प्रोटेक्टिभ फिल्टर भएको दूरविनले सूर्यलाई हेरियो भने आँखाको पर्दामा घाउ हुने र दाग बस्ने हुन्छ। यसको कारणले आँखाको दृष्टि सदाको लागि गुम्ने खतरा हुन्छ।
हुन त सूर्यलाई कहिले पनि नाङ्गो आँखाले धेरै बेरसम्म हेर्नु हुँदैन। आँखाको नानीले कति प्रकाश आँखाभित्र जानुपर्ने हो त्यो नियन्त्रण गर्छ। धेरै उज्यालोमा हेर्दा आँखाको नानी सानो हुन्छ भने अँध्यारोमा नानी ठूलो हुन्छ। यो एउटा आँखाको प्रोटेक्टिभ मेकानिजम हो।
सूर्यलाई हेर्दा आँखाको नानी सानो हुने हुँदा हानिकारक किरणहरु थोरै मात्रामा आँखाभित्र जान पाउँछ। तर ग्रहण लागेको बेला सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ र सूर्यको वरिपरि कालो हुन्छ र अँध्यारो हुन्छ। अँध्यारो हुने हुँदा हाम्रो आँखाको नानी कम खुम्चेको हुन्छ जसले गर्दा अरु बेलाभन्दा धेरै हानिकारक किरणहरु आँखाभित्र छिर्छ र आँखाको पर्दा सधैंको लागि खराब गर्न सक्छ।
हानिकारक किरणमध्ये अल्ट्राभायलेट ए रेडिएसनले आँखाको पर्दालाई फोटोकेमिकल एफेक्ट (फोटोअक्सिडेसन) बाट सधैंको लागि नष्ट गरिदिन्छ। पर्दाको फोभियामा पहेलो रङको दाग बस्छ।
लक्षण
ग्रहणतिर हेरेको १ देखि ४ घन्टा भित्रमा निम्न लक्षणहरु देखिन सक्छन्:
- दृष्टि पहिलेभन्दा कम देखिन थाल्नु
- आँखा दुख्नु
- टाउको दुख्नु
- उज्यालोमा हेर्न गाह्रो हुनु
- आँखा अगाडि कालो दाग जस्तो देख्नु
- रङ छुट्याउन गाह्रो हुनु
- कुनै कुरालाई उसको वास्तविक आकारभन्दा सानो अथवा ठूलो देख्नु
यस्ता लक्षण देखा परेमा तुरुन्त नजिकको आँखा अस्पताल जानुपर्छ र नेत्र रोग विशेषज्ञसँग आँखा जाँच गराउनुपर्छ।
उपचार
ग्रहण हेर्दा आँखा खराब भयो भने यसको उपचार अहिलेसम्म पत्ता लागेको छैन। त्यसैले यसबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो। जनसमुदायमा यसको बारेमा जानकारी गराउनु आवश्यक छ। ग्रहण लागेको बेलामा नाङ्गो आँखाले, सामान्य कालो चस्माले, सामान्य दूरविनले हेर्नु हुँदैन। ग्रहण हेर्नै परेमा सोलार फिल्टर भएको चस्मा अथवा दूरविनको प्रयोग गर्नुपर्छ।
(डा झा नेत्र रोग विशेषज्ञ हुन्)