काठमाडौं– कोरोना संक्रमित बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितलाई ‘होम आइसोलेसन’ मा राख्ने अवधारणा अघि सारेको छ। संक्रमितको संख्यालाई क्षमताले नधान्ने भएसँगै मन्त्रालयले ‘होम आइसोलेसन’मै संक्रमित राख्ने तयारी गरेको हो।
‘होम आइसोलेसन’मा राख्ने प्रस्तावलाई स्वीकृत गराउन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितको संख्या बढेकाले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको बताए।
मेडिकल खरिद प्रक्रियामा भएको भएको अनियमितताको स्पष्टीकरणका लागि सार्वजनिक लेखा समितिले बोलाएको बैठकमा सचिव अर्यालले उक्त जानकारी गराए। उनले कोरोना परीक्षणका लागि मन्त्रालयले पद्धति र प्रणालीमा सुधार गर्दै लगेको बताएका थिए।
साउन अन्तिमसम्म ३९ हजार संक्रमित पुग्ने मन्त्रालयको आंकलन छ। कुल जनसंख्याको २ प्रतिशतको परीक्षण गर्ने मन्त्रालयलको प्रारम्भिक तयारी छ।
सचिव अर्यालले समिति बैठकमा भने, ‘मन्त्रालयले ६ लाख मानिसको परीक्षण गर्ने तयारी गरेको छ।’ परीक्षणको दायरा बढाउन ७ सय ५३ वटै स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङका लागि ३ हजार २५ समूह बनाउने मन्त्रालयको तयारी रहेको सचिव अर्यालले जानकारी गराए।
उनका अनुसार प्रयोगशालाको संख्या बढाउने तयारी समेत छ। सेना, प्रहरी र सशस्त्र प्रहरीले एक/एक प्रयोगशाला बनाउने भएका छन्। त्यस्तै,गण्डकीको बागलुङ, प्रदेश- १, प्रदेश- ५ र सुदूरपश्चिमको डडेल्धुरामा प्रयोगशाला सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी छ।
समितिमा उनले सरकारको वर्तमान क्षमताले बढीमा दैनिक ७ हजार ४ सय जनाको परीक्षण गर्न सक्ने जानकारी गराए। परीक्षणलाई खर्चसँग समेत तुलना गरी दायरा बढाइने मन्त्रालयले जनाएको छ। सरकारले संकलन गरेको स्वाबलाई निजी अस्पतालमा समेत परीक्षण गर्ने तयारी भएको सचिव अर्यालले जानकारी दिए। परीक्षणको शुल्क भने सरकारले तोकेबमोजिम नै हुने उनले प्रष्ट्याए।