काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा अहिलेसम्म देखिएको कोरोना संक्रमितमध्ये ६ प्रतिशत समुदायकै व्यक्तिमा देखिएको बताएका छन्।
स्वास्थ्य मन्त्री ढकालले नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै ९४ प्रतिशत संक्रमण भने विदेशबाट आएका व्यक्तिमा देखिएको बताएका छन्।
हालसम्म नेपालमा १३ हजार ४ सय ४८ संक्रमित देखिएका छन्। त्यसमध्ये ३ हजार १ सय ३४ जना निको भएका छन्। ‘अहिलेसम्म स्थिति नियन्त्रणमै छ। दैनिक १० हजार पिसिआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार भइरहेको छ,’ स्वास्थ्यमन्त्री ढकालले भने। उनले केही दिनभित्र ११ ल्याब थप गरिने जानकारी दिए।
यद्यपि, यसअघि उनले असार १५ गतेबाट नै दैनिक १० हजार पिसिआर कोरोना परीक्षण हुने बताउँदै आएका थिए। हाल देशका २२ ल्याबबाट औसत ५ देखि ६ हजार परीक्षण हुँदै आएको छ।
नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले एक करोड ५७ लाख बराबरको ७ भेन्टिलेटर सहित तीन सय थान गगल्स, एक हजार एक सय ५० सर्जिकल मास्क, पाँच सय ५० डिस्पोजल कभर, ग्लोब्स २० हजार थान, ४ सय ५० थान बुट, दुई ५० वटा स्यानिटाइटर लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाएको छ।
मन्त्री ढकालले स्वास्थ्य सामग्री सहयोगले स्वास्थ्यकर्मीको मनोबल बढ्ने बताए।