काठमाडौं- नेपालमा पिसिआर परीक्षण निश्चित व्यक्तिले मात्र गर्न पाउँछन्। लक्षण भएका, संक्रमित व्यक्तिको सम्पर्कमा आएका र ज्वरो खोकीको लक्षण भएका र अस्पतालमा भर्ना गर्नुपर्ने व्यक्तिको मात्र सरकारले पिसिआर गर्दै आएको छ।
तर अब वीर अस्पतालमा निश्चित रकम तिरेर पिसिआर परीक्षण गर्न पाईन्छ। कुनै ट्राभल हिस्ट्रि नभएको तर आफुलाई शंका लागेका व्यक्तिले वीर अस्पतालमा पैसा तिरेर अर्थात् सशुल्क पिसिआर परीक्षण पाउने व्यवस्था लागू भएको छ।
वीर अस्पतालमा यो व्यवस्था लागू भएको दुई साता भएको छ। कोरोना भए/नभएको थाहा पाउन चाहने व्यक्तिले ५५ सय रुपैयाँ तिरेर पिसिआर परीक्षण गर्न सक्ने अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए ।
‘कोरोना परीक्षणको दायरामा नपर्ने, ट्राभल हिस्ट्रि नभएको, विदेश जाने व्यक्तिले या पिसिआर रिपोर्ट चाहिने व्यक्तिले पैसा तिरेर पिसिआर परीक्षण गर्न सक्छन्’ उनले भने।
दैनिकजसो ४/५ जना व्यक्ति सशुल्क पिसिआर परीक्षण गर्न अस्पताल पुग्ने गरेको उनले जानकारी दिए। हालसम्म १ सय बढी व्यक्तिले सशुल्क पिसिआर परीक्षण गराएको अस्पतालले जनाएको छ।
कोरोना परीक्षण हुने २३ प्रयोगशालामध्ये वीर अस्पताल पनि एक हो। हाल वीर अस्पतालका कोरोना परीक्षणको परीक्षण १ सय ५० छ। यसमध्ये २५ प्रतिशत पिसिआर परीक्षण सशुल्कका लागि छुट्याएको डा. सेन्चुरीले बताए । सशुल्क पिसिआर परीक्षणले सर्वसाधारणलाई सहज बनाइएको उनको भनाई छ।
उनले भने, ‘निश्चित व्यक्तिको मात्र सरकारले पिसिआर परीक्षण गर्दै आएको छ। जोखिमको घेरामा नभएका तर पिसिआर रिपोर्ट आवश्यक पर्ने व्यक्तिको लागि भने यसले सहज बनाएको छ।’