काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। गत २४ घण्टामा ४ सय ७३ भेटिएसँगै संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको हो।
कुल संक्रमितमध्ये १ हजार ८ सय ३ महिला र १२ हजार ६ सय ३६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका ३, मोरङका ६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका १० जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३०, महोत्तरीका १३ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ३१, बझाङका ३७, डोटीका ५८, कैलालीका १ सय ६५, कञ्चनपुरका ३१ र खोटाङका १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुर, नुवाकोट र रसुवाका १/१, सिन्धुपाल्चोकका ३ जनामा कोरोना देखिएको छ।
भरतपुर अस्पतालमा चितवनका २ जनामा मात्र कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बर्दियाका १, भक्तपुर र दाङका २/२, धादिङका १, दोलखा २, गोरखाका १, काठमाडौंका २८, काभ्रे, ललितपुर, मकवानपुर, पाल्पा, रामेछाप, रुपन्देही, सिन्धुली, उदयपुर, नवलपरासी, सिन्धुपाल्चोकमा १/१ र अर्घाखाँची र सुनसरीमा २/२ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका १, पर्वतका २, तनहुँका ३ र स्याङ्जाका २, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १ र लमजुङका १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका २, स्वास्थ्य सेवा कार्यालय दैलेखमा दैलेखका २, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालिकोटका १ जनामा कोरोना पुष्टि भएको छ।
थप दुई वटा प्रयोगशालामा पिसिआर परीक्षण सुरु भएसँगै यसको संख्या २५ पुगेको मन्त्रालयले जनाएको छ।