काठमाडौं– काठमाडौं उपत्यकामा बिहीबार देखिएका ३२ जना कोरोना संक्रमित विदेशबाट आई होल्डिङ सेन्टरमा बसेका व्यक्ति भएको बताइएको छ।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले सबै व्यक्ति विदेशबाट आई विभिन्न होटल, होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरु संक्रमित रहेको जानकारी दिए।
‘सबै विदेशबाट आएका व्यक्ति हुन्। स्वेच्छाले विभिन्न अस्पतालमा परीक्षणका लागि पुगेका थिए। ह्याम्स, केएमसीबाट संकलन भएको उनीहरुको स्वाबको नमूना त्रिवि शिक्षण अस्पतालमा परीक्षण भएको थियो,’ पाण्डले भने।
उनले एक जना कीर्तिपुरबाट आएको बताए।
उनले भने,‘संक्रमितको विस्तृत विवरण संकलन हुँदैछ भने उहाँहरुलाई अस्पताल ल्याउने क्रम सुरु भएको छ। भोलि बिहानसम्म बिस्तृत जानकारी आउँछ।’
बिहीबार देभभर ४७३ कोरोना संक्रमित देखिएका छन्। योसँगै संक्रमितको संख्या १४ हजार पाँच सय १९ पुगेको छ। भने ६ हजार ३ सय २० जना निको भएका छन् भने ३० संक्रमितको मृत्यु भएको छ।