काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारदेखि कोरोना परीक्षणको दायरा बढाएको छ।
सीमित व्यक्तिको मात्र पिसिआर परीक्षण गर्दै आएको मन्त्रालयले अब क्यान्सर र मधुमेहका बिरामीको पनि परीक्षण गर्ने भएको छ। इमरजेन्सी र आईसियुमा भर्ना हुने बिरामी पनि कोरोना परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
पकेट क्षेत्रमा बसोबास गर्ने व्यक्ति र स्वास्थ्यकर्मीहरुको पनि कोरोना परीक्षण गर्ने मन्त्रालयले जनाएको छ।
क्लिनीकल समन्वय समितिको छलफलबाट सरकारी, सामुदायिक र निजी अस्पतालमा बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको डा गौतमले जानकारी दिए।
यस बाहेक विदेशबाट आई होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई साबुन पानीले हात धुन, मास्क लगाउन र २१ दिनसम्म क्वारेन्टाइनमा रहन मन्त्रालयले आग्रह गरेको छ।