काठमाडौं- स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौं राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा सुरु भएको दुई दिने सम्मेलन भर्चुअल माध्यमबाट सुरु भएको हो।
सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गरेका छन्। उद्घाटन गर्दै मन्त्री ढकालले हवाई यात्राबाट आउने व्यक्तिबाट नेपाल कोरोनाको जोखिममा रहेको बताए। कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयास गरिरहेको उनले बताए।
सम्मेलनको यस वर्षको नारा ‘अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदीयमान जनस्वास्थ्यका सवालहरुको सम्बोधन’ रहेको छ।
सम्मेलनमा जनस्वास्थ्य विज्ञ तथा अनुसन्धानकर्ताको उपस्थिति रहेको छ। सम्मेलनका लागि जनस्वास्थ्यसँग सम्बन्धित २ सय ५२ वटा अनुसन्धानका सार संक्षेपहरु परिषदलाई प्राप्त भएको थियो।
स्वास्थ्य समता र विकास, कोभिड-१९, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली लगायत विषयमा ८६ वटा अनुसन्धानका सार संक्षेप सम्मेलनका लागि छनोट भएका थिए। तीमध्येबाट सम्मेलनमा ३२ वटा अनुसन्धानमुलक मौखिक र ५४ वटा पोस्टरहरुको प्रस्तुति हुनेछ। सम्मेलनमा अमेरिका, बेलायत, स्वीटजरल्यान्ड, फिलिपिन्स, थाइल्यान्ड, बेल्जियम र जर्मनीका विज्ञहरु पनि सहभागी भएका छन्।
परिषदले सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरण मध्येबाट एक/एक जनालाई उत्कृष्ट अवार्ड प्रदान गर्ने जनाएको छ।
सम्मेलनले स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न, असल अनुशासन संस्कारको विकास गर्न र अनुसन्धानबाट प्राप्त नतिजालाई स्वास्थ्य क्षेत्रको योजना, नीति तथा कार्यक्रमका लागि पहल गर्ने परिषदले जनाएको छ।
परिषदले हरेक वर्ष १० देखि १२ अप्रिलमा यो सम्मेलन गर्दै आए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो। सन् २०१४ देखि परिषदले यो सम्मेलन गर्दै आएको छ।