काठमाडौं- पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना संक्रमित देखिएका छन्।
काठमाडौंका कपन, महाराजगञ्ज, चावहिल, भक्तपुरको चाँगुनारायण, ललितपुरको महालक्ष्मीस्थान, सुनाकोटी, थैब, गोदावरी, हात्तिवन, चापागाउँ, हरिसिद्धी लगायतका स्थानमा कोरोना संक्रमित भेटिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले अहिले कुन संक्रमित कहाँको हो, उसको ट्राभल हिष्ट्री छ कि छैन भन्ने खोजी भइरहेको जानकारी दिए।
उनले भने, ‘हामीले प्रयोगशालामा आएको ठेगानाका आधारमा संक्रमितसँग सम्पर्क गरिरहेका छौँ। कतिपय भरतपुरबाट आएका क्यान्सरका बिरामी पनि छन्। सबै सूचना संकलन भइरहेको छ।’
हालसम्म काठमाडौंमा १६१ जना, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमित देखिएका छन्।
पछिल्लो २४ घण्टामा देशभर १८० जना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।