काठमाडौं- कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमित निको हुने क्रम बढ्दो छ। प्रदेशमा हालसम्म १ हजार ५ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ हजार २ सय ९१ जना संक्रमणमुक्त भएका छन्।
प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या २ सय ५३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशमा संक्रमितमध्ये हालसम्म ६ जनाको मृत्यु भएको छ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार आज सुर्खेत, दैलेख र मुगुमा गरी २० जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जानकारी दिए।
उनका अनुसार आज सर्खुेतमा १३, दैलेखमा ५ र मुगुमा २ जनामा संक्रमण देखिएको हो। आज थप भएकासहित प्रदेशमा संक्रमितको संख्या १ हजार ५ सय ५० पुगेको हो।
