काठमाडौं- पछिल्लो २४ घण्टामा उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६ जना, ललितपुरमा ७ जना संक्रमित देखिएका छन्।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले काठमाडौंका बुढानिलकण्ठ, कपन, टेकु, मैतिदेवी र ललितपुरको गोदावरी, चापागाउँ, जावलाखेल, एकान्तकुना, धोबिघाटलगायतका स्थानमा कोरोना संक्रमित देखिएको जानकारी दिए।
उनले भने,‘उपत्यकामा अहिले बाहिरी देशबाट आएका व्यक्तिहरु जसलाई लक्षणका आधार हामीले स्बाब संकलन गरी परीक्षण गर्दा संक्रमण देखिएको छ। बाहिरीबाट आई होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरु जसले आफैँ पैसा तिरेर परीक्षण गर्दा संक्रमण देखिएका छन् भने थानकोट वा अन्य बाटो प्रयोग गरी छुकीछिपी काठमाडौं छिरेकाहरुमा पनि संक्रमण देखिएको छ। सबैले ठेगाना काठमाडौं राखेको देखिएको छ।’
उनले केही संक्रमित ट्राभल हिष्ट्री नभएका उपत्यका स्थानीय व्यक्तिमा समेत संक्रमण देखिएको बताए। स्थानीय व्यक्तिमा समेत संक्रमण देखिएपछि उपत्यकामा समुदायमा संक्रमण फैलिएको छ कि छैन भनेर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १ एकहजार २ सय स्बाव संकलन गरी परिक्षण गरिरहेको छ।
हालसम्म उपत्यकाका काठमाडौंमा १९१ जना, ललितपुरमा ५६ र भक्तपुरमा ४३ जना संक्रमित देखिएका छन्। उपत्यकामा तीन जिल्लामा हालसम्म २९० कोरोना संक्रमित देखिएका छन्।
पछिल्लो २४ घण्टामा देशभर २५५ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ।