काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरले कोरोना महामारीको समयमा पनि स्पाइनल इन्जुरीका सेवा नियमित रुपमा सञ्चालन गरिरहेको छ। आवश्यक सतर्कता अपनाएर स्पाइनल इन्जुरीका बिरामीलाई नियमित रुपमा सेवा उपलब्ध गराएको अस्पतालका हाडजोर्नी विभाग प्रमुख डा रुद्र मरासिनीले जानकारी दिएका छन्।
गएको तीन वर्षमा राष्ट्रिय ट्रमा सेन्टरबाट ८ सय ६६ जना स्पाइनल इन्जुरीका बिरामीले सेवा लिएका छन्।
६ सय १९ पुरुष र २ सय ४७ महिला गरी ८ सय ६६ जना स्पाइनल इन्जुरीका बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ। गत वर्ष मात्र ४ सय २० जना स्पाइनल इन्जुरीका बिरामीले सेवा लिएको डा मरासिनीले बताए।
४ सय २० जनामध्ये २ सय ५२ पुरुष र १ सय ६८ महिला रहेको अस्पतालको तथ्यांक छ। गत वर्ष कुल बिरामीमध्ये ३ सय ८५ जनाको सफल शल्यक्रियामार्फत उपचार गरिएको डा मरासिनीले जानकारी दिए।
सरकारले स्पाइनल इन्जुरीका बिरामीको उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। ट्रमा सेन्टरमा गत तीन वर्षमा स्पाइनल इन्जुरीका बिरामीको उपचारका लागि ४ करोड १० लाख ४१ हजार १ सय ८७ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ।
स्पाइनल इन्जुरीका बिरामीहरुलाई विभागीय प्रमुख डा मरासिनी सहित सात जना वरिष्ठ अर्थोपेडिक्स तथा स्पाइनल सर्जनहरुले सेवा उपलब्ध गराएका छन्।
हाल मासिक रुपमा २० देखि २५ जना स्पाइनल इन्जुरीका बिरामीको शल्यक्रिया हुने गरेको उनले जानकारी दिए।