काठमाडौं- सरकारले समुदायमा कोरोना भाइरसको स्थिति अध्ययन गर्न पाँच दिनभित्र उपत्यकामा पाँच हजार जनाको पिसिआर परीक्षण गर्ने भएको छ।
त्यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा बिहीबारदेखि स्वाब संकलन सुरु गरेको छ।
महाशाखाका सर्भिलेन्स तथा अनुसन्धान शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले उपत्यकाका विभिन्न अस्पताल, बैंक, यातायात कार्यालयका कर्मचारी र सेवाग्राहीको नमुना संकलन भइरहेको जानकारी दिए।
बिहीबार कलंकीस्थित मालपोत कार्यालय, सहिद मेमोरियल अस्पताल, कृषि विकास बैंक, टेकुस्थित वाणिज्य बैंक, नेसनल किड्नी सेन्टर बालाजु, यातायात कार्यालय स्वयम्भू, नेपाल इन्भेष्टमेन्ट बैंक गोंगबु, नेपाल एसबिआई बैंक गोंगबु, मालपोत कार्यालय जगाती, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, क्यान्सर अस्पताल भक्तपुर, यातायात कार्यालय जगाती, चाबहिलस्थित मालपोत कार्यालय, सनराइज बैंक, ओम अस्पताल, हेल्पिङ्ग हेन्ड अस्पताल र मेडिकेयर अस्पतालका सेवा प्रदायक कर्मचारी र सेवाग्राहीको पिसिआर परीक्षणका लागि स्वाब संकलन भइरहेको छ।
महाशाखाले यसअघि ट्राभल हिष्ट्री नभएका उपत्यका १२ जना संक्रमितको सम्पर्कमा आएका करिब १ एक हजार २ सय जना व्यक्तिको पनि स्वाब संकलन गरी पिसिआर परीक्षण गरेको थियो।