काठमाडौं- सरकारले समुदायमा कोरोना भाइरस फैलिए नफैलिएको बारे पत्ता लगाउन ४५ हजार जनाको पिसिआर परीक्षण गर्ने भएको छ। त्यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी), कोभिड-१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सिसिएमसी)को टिमले देशभरबाट नमुना संकलन गर्ने बताइएको छ।
सोहीअनुसार इडिसिडीले उपत्यकामा बिहीबारदेखि स्वाबको नमुना संकलन कार्य सुरु गरिसकेको छ। महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले देशभर कोरोना स्थिति पत्ता लगाउन, कोरोना समुदायम गए/नगएको अध्ययन गर्न देशभरका सबैभन्दा मानिसको भीडभाड हुने अस्पताल, बैंक, यातायात कार्यालयका कर्मचारी, सेवाग्राही र अन्य सर्वसाधारण गरी ४५ हजारको नमुना संकलन भइरहेको जानकारी दिए।
बिहीबार उपत्यकामा एक दिनमा करिब २ सय ५० जनाको नमूना संकलन गरिएको छ। महाशाखाको सर्भिलेन्स तथा अनुसन्धान शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले उपत्यकामा इडिसिडीले र उपत्यका बाहिरको पिसिआर संकलन गर्ने कार्य सिसिएमसी गर्ने योजना रहेको बताए।
बिहीबार उपत्यकामा कलंकीस्थित मालपोत कार्यालय, सहिद मेमोरियल अस्पताल, कृषि विकास बैंक, टेकुस्थित वाणिज्य बैंक, नेसनल किड्नी सेन्टर बालाजु, यातायात कार्यालय स्वयम्भू, नेपाल इन्भेष्टमेन्ट बैंक गोंगबु, नेपाल एसबिआई बैंक अफ इन्डिया गोंगबु, मालपोत कार्यालय जगाती, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, क्यान्सर अस्पताल भक्तपुर, यातायात कार्यालय जगाती, चावहिलस्थित मालपोत कार्यालय, सनराइज बैंक, ओम अस्पताल, हेल्पिङ हेन्ड अस्पताल र मेडिकेयर अस्पतालका सेवा प्रदायक कर्मचारी र सेवाग्राहीको पिसिआर परीक्षणका लागि स्वाब संकलन भएको छ।
महाशाखाले यसअघि ट्राभल हिस्ट्री नभएका उपत्यका १२ जना संक्रमितको सम्पर्कमा आएका करिब १ एक हजार २ सय जना व्यक्तिको पनि स्वाब संकलन गरी पिसिआर परीक्षण गरिरहेको छ।